राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार-२०८२ कँडेललाई

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार—२०८२ बाट विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ ।
मस्र्याङदी वाङ्मय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व.घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई सम्मान गरिएको हो ।
समारोहका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रूपमा विशिष्ट कवि कँडेललाई पुरस्कार प्रदान गरेका थिए । उक्त पुरस्कार नगद एक लाख रुपैयाँ राशीको रहेको छ ।
धादिङको रिचाकोटार जन्मिएका कवि कँडेलले छन्दोवद्ध कविता, काव्य तथा महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा योगदान पुर्याएका छन् ।
उनका कविता, काव्यमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणभाव प्रवाहित भएको पाइन्छ । प्रतिष्ठानले कवि कँडेलको नेपाली छन्द कविता साधनाको सम्मान गर्दै यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारले सम्मान गरेको जनाएको छ ।
राष्ट्रकवि घिमिरेका परिवारका सदस्य राजीव घिमिरेले पुरस्कार विगतमा राष्ट्रपति भवन शीतल निवासमा वितरण गर्ने गरिएको स्मरण गर्दै यसवर्ष विशेष परिस्थितिका कारण घरमा नै गरिएको जानकारी दिए ।








