मेयर बालेनको एउटा निर्णयले एक वर्षमा २० हजार २ सय ८२ विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस शैक्षिक सत्र २०८२ मा २० हजार २ सय ८२ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको जनाएको छ ।
कानुनी कार्यान्वयनका क्रममा, यस वर्ष १ देखि १० कक्षासम्म १६,९८० विद्यार्थी र कक्षा ११ का ३,३०२ विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले छात्रवृत्ति वितरणको प्रक्रिया र अनुगमनमा कडा ध्यान दिइरहेको बताएका छन् । ‘कानुनी राज्यको अनुभूति गराउनु हाम्रो प्रमुख उद्देश्य हो। यस सन्दर्भमा कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा हामी गम्भीर छौं,’ उनले भने ।
यस वर्ष, ४४० विद्यालयले छात्रवृत्तिका लागि विवरण बुझाएका छन्, जसअनुसार २०२८२ विद्यार्थीलाई कुल २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ । मेयर शाहले भने, ‘केहि विद्यालयहरूले अझै विवरण बुझाएका छैनन् । ती विद्यालयलाई यथाशिघ्र विवरण बुझाउन अनुरोध गरिएको छ । विवरण नपेस गर्ने विद्यालयलाई काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गरिनेछ ।’
कक्षा ११ का छात्रवृत्ति केन्द्रिकृत प्रणालीबाट वितरण गरिएको छ भने कक्षा १–१० का छात्रवृत्ति ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले वितरण गरेका छन् ।
सबै विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा सार्वजनिक गरिएको छ र अस्वाभाविक देखिएको खण्डमा नागरिकलाई महानगर शिक्षा विभागसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।








