जेनजीहरुले गरिरहेको आन्दोलन उत्तेजित र अराजक: मेयर हेमकर्ण पौडेल

काठमाडौँ । जेनजीहरुले गरिरहेको आन्दोलन उत्तेजित र अराजक भएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताएका छन् ।

मेयर पौडेलले एक विज्ञप्ति जारी गर्दै जेनजीको नाममा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरी आन्दोलनलाई उत्तेजित बनाएको जनाएका हुन् ।

उनी भन्छन्
‘जेन-जीको आन्दोलनले हिंसात्मक रूप लिई अराजकतातर्फ उन्मुख भई सुरक्षाकर्मी माथि ढुंगामुढा प्रहार गरी आन्दोलनलाई उत्तेजित बनाई इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा प्रवेश गरी सरकारी सार्वजनिक सम्पत्ति तथा सवारी साधनहरू तोडफोड र आगजनी गरी सरकारी सार्वजनिक सम्पत्तिको क्षति पुर्‍याएकोमा उक्त अराजक र ध्वंसात्मक गतिविधिको घोर भत्सर्नासमेत गर्दछु,’ मेयर पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको क्रममा भएको सरकारी सार्वजनिक सम्पत्ति तथा सवारी साधनको क्षतिको मूल्याकंन गरी ध्वंसात्मक क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको मागसमेत गरेका छन् ।

‘आगामी दिनको परिस्थितिलाई आकलन गरी धैर्यतापूर्वक सामना गर्ने गराउने सहज वातावरण बनाउनका निम्ति सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, समाजका अगुवा, अभियन्ता, बुद्धिजीवी, सञ्चारकर्मी लगायत सम्पूर्ण इटहरीवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा अनुरोध गर्दछु,’ मेयर पौडेलले भनेका छन्, ‘इटहरीको विषम परिस्थिति र अवस्थालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्थाहरू मिति २०८२ भाद्र २४ गतिदेखि २०८२ भाद्र २६ गतेसम्म ३ (तीन) दिन बिदा दिइएकोसमेत गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =