रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा

काठमाडौँ । रास्वपाका प्रतिनिधिसभा सदस्य असिम शाहले पदबाट राजीनामा दिएका छन् । सरकारले जेनजी आन्दोलनप्रति देखाएको रवैयाको विरोधमा उनले राजीनामा दिएका हुन् ।

सांसद शाहले आफ्नो राजीनामा सार्वजनिक गर्दै भनेका छन्, ‘सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर अमानवीय कदम चालेको छ । नागरिक अधिकारमाथि भएको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएकोले मैले पद त्याग गर्ने निर्णय गरेको हुँ ।’

उनले संसदमा बारम्बार युवाको आवाज उठाएको बताएका छन् । तर सरकार चलाउनेहरूले सुन्न नचाहेको स्मरण गरेका छन् । ‘संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो । भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको छ,’ उनले भनेका छन् ।

राजीनामा पत्रमा उनले संसदमा चुप लागेर बस्नु या गलत नीतिलाई मौन समर्थन गर्नु आफ्नो पुस्ता, मतदाता र देशको भविष्यसँग विश्वासघात हुने बताएका छन् ।

‘सांसद मेरो लागि पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो । तर जब त्यो आवाज नै दबाइयो, सरकार जनप्रतिनिधिप्रतिको प्रतिबद्धताबाट पछि हट्यो, म त्यस्तो संसदमा बसिरहन सक्दिन,’ शाहले उल्लेख गरेका छन् ।

शाहले अब संसदमा होइन, सडकमा उत्रेर जेनजी पुस्ता, नागरिक र सत्यको पक्षमा लड्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तो छ उनको राजीनामा सन्देश

म असीम शाह , प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद् सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँछु।

गत दिनहरूमा भइरहेको Gen Z आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ।

मैले पटक–पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ— सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने। तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन्।

संसद् भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठुलो हो। भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको छ।

संसद्मा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठुलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ।

सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसद्मा बसिरहनु मेरो लागि अब सम्भव रहेन ।

म अब सडकमा उत्रेर Gen Z पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =