राष्ट्रसेवक कर्मचारीहरूले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्दछ : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीहरूले आफ्नो सेवा प्रवाहमा कुनैपनि कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले उनीहरूले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यान दिनुपर्ने बताएकी हुन् ।
निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रम लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले राष्ट्र सेवक कर्मचारीहरूको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्याङ्कनको परिपाटीलाई कठाईका साथ लागू गर्नुपर्ने आवश्यकता पनि औँल्याइन् ।
सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरूको निगरानी राज्यले कडाइका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो । त्यस अवसरमा उनले राष्ट्र सेवक कर्मचारीहरू सेवा प्रवाह क्षेत्रको मुख्य पिलर भएको पनि स्मरण गराइन् ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन् ‘निजामती क्षेत्र राज्यको महत्त्वपूर्ण अङ्ग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो । उनीहरूको सो भूमिका निर्वाह गरिरहेका पनि छन् । तर कहिलेकहीँ एउटा रुखमा सबै सुन्तला पाक्दैनन् । कहिलेकाहीँ झर्न पनि सक्छ । यसलाई मुख्य प्रवृत्तिकै रूपमा लिनु हुँदैन । तपाईँले हरेक दिन नुहाउनु पर्छ सरसफाइको लागि । अनुगमनहरू हुनुपर्छ । कामको मूल्याङ्कन हुनुपर्छ । त्यसलाई मुख्य प्रवृत्तिको रूपमा लिनु हुँदैन । तर हामी राष्ट्र सेवामा समर्पित भएको हुनाले थोरै पनि कमजोरी नहोस् भनेर निजामती क्षेत्रले सोच्नु राम्रो कुरा हो । सुशासन नै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्दछ ।’
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र सेवक कर्मचारीहरूको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने बताइन् ।








