झन्डोत्तोलन गर्दै मनाइयो नेपाल रेडक्रस स्थापना दिवस

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको ६३ औंँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख सन्देश श्रेष्ठले संयुक्त रूपमा रेडक्रसको झण्डोत्तोलन गरे ।

सो अवसरमा निमित्त निर्देशक विडारीले नेपाल रेडक्रसको उन्नयनका लागि साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवादसहित नेपाल रेडक्रसको संस्थागत विकास तथा सेवामूलक गतिविधिमा सबैबाट निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

नेपाल रेडक्रसले गत वर्ष देशका विभिन्न स्थानमा आएको बाढीपहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४ हजार ९०६ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्री वितरण गरेको थियो ।

साथै, ५ हजार ३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि कूल रु १२ करोड २४ लाख २० हजार नौ सय ४ रुपैयाँ बराबरको नगद सहायता उपलब्ध गराइएको छ ।

आपत्कालीन परिस्थितिको तयारी स्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेले गत एक वर्षमा नेपाल रेडक्रस सोसाइटीले पु¥याएको सेवाका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो । ‘म सेवा गर्छु’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रसले सरकारको सहयोगीको रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवर्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरी सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा आइसिआरसीका नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतको द्वन्द्व, भूकम्प र कोभिड महामारीका बेला नेपाल रेडक्रस सोसाइटीसँग मिलेर गरिएको सहकार्यको स्मरण गरे ।

विदेश यात्रा, बसाइसराइँ र द्वन्द्वलगायतका कारण व्यक्ति बेपत्ता हुनेक्रम विश्वमा नै बढेकोले नेपालमा आइसिआरसीले नेपाल रेडक्रससँग मिलेर बेपत्ता व्यक्तिको खोजीमा सहकार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रममा रेडक्रसका युवा प्रतिनिधि सुरजकुमार सिंहले नेपाल रेडक्रसले युवाको नेतृत्व विकासका गतिविधि सञ्चालन गरी युवालाई सहभागी हुने अवसर दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि युवालाई स्थान दिइने अपेक्षा गरिएको बताए ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा संस्थामा २५ वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई प्रोत्साहनस्वरुप शैक्षिक सहयोग र प्रशंसापत्र वितरण गरिएको थियो ।

साथै विश्व रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको फोटो तथा भिडियो प्रतियोगिताका विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । दिवसकै अवसरमा आज रेडक्रसको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषका सभापति अमरमणी पौडेलले कोषमा रहेको रकमको उचित व्यवस्थापन गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =