मुक्तिनाथ विकास बैंकको नयाँ शाखा धुम्बाराहीमा सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित चिलिमे टावरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको यस शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार एक विशेष समारोहबीच गरेका हुन् ।

यसअघि जमलमा रहेको शाखा कार्यालयलाई स्थानान्तरण गरी नयाँ तथा सुविधासम्पन्न भवनबाट सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा गरेको लगानी, डिजिटल बैंकिङ विस्तार र वित्तीय पहुँच अभिवृद्धितर्फ देखाएको सक्रियतालाई प्रशंसा गर्दै, अब जोखिम व्यवस्थापनमा पनि थप सजग बन्न जरुरी छ भन्ने टिप्पणी गरे ।

कार्यक्रममा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र आगामी योजना, तथा निवर्तमान अध्यक्ष एवं संस्थापक सीईओ भरतराज ढकालले वित्तीय क्षेत्रमा नीति निर्माण र सुधारका विषयमा मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । उनले समापन मन्तव्य दिँदै भने– ‘सेवाको गुणस्तरलाई अझ मजबुत बनाउँदै जान बैंक प्रतिवद्ध छ ।’

बैंकले नयाँ शाखा कार्यालय रिङ्ग रोडसँग जोडिएको स्थानमा रहेको र पर्याप्त पार्किङ सुविधा रहेको भन्दै, सेवाग्राहीका लागि सहजता हुने विश्वास व्यक्त गरेको छ ।

उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरू, संस्थापक सेयरधनी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, ग्राहक र स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

बैंकले आगामी दिनमा पनि समावेशी वित्तीय सेवा, डिजिटल पहुँच, र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =