एसियाकै नमुना ‘दि क्लिफ’ पुलमा एक महिना निःशुल्क आवतजावत

काठमाडौँ । पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको एसियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकका लागि एक महिनासम्म निःशुल्क खुला गरिएको छ।

परिचयपत्रका आधारमा पुलको प्रयोग गर्न सकिनेछ।

लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायातमा अवरोध सिर्जना भएपछि द क्लिफले स्थानीयलाई राहत स्वरूप यो विशेष सुविधा दिने घोषणा गरेको हो। स

डक अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर पुगेको अवस्थालाई मध्यनजर गर्दै पुलबाट आवतजावत सहज होस् भनेर यो योजना ल्याइएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । विपद्को समयमा सहज आवतजावतका लागि गरिएको यो व्यवस्था स्थानीयलाई ठुलो राहत हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि यो पुल, बागलुङका कृषि उत्पादन कुश्मा बजारसम्म पुर्‍याउने पुल बन्दै आएको छ । विद्यार्थीहरूलाई पढ्न जान, कर्मचारीलाई जागिरमा पुग्न, बजार आवतजावत र सामान्य दैनिकीलाई सस्तो र छिटो बनाएको छ। नियमित प्रयोगकर्ताका लागि मासिक पासको सुविधा पनि छ।

५२० मिटर लम्बाइ र २२८ मिटर उचाइको यो पुलले कुश्मा– बलेवालाई मात्र नभई, सम्पूर्ण क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक आवतजावतलाई जोड्ने महत्त्वपूर्ण आधारको रूपमा काम गरिरहेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =