पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चालनमा

सांसद शर्मा भन्छन्– हाम्रो सामूहिक सपना पुरा भयो

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चालनमा आएको छ । पटक–पटकको प्रयास र राजनीतिक तथा प्रशासनिक उतारचढावपछि अन्ततः मेडिकल कलेज सञ्चालनमा आएको हो ।

मोरङ–३ का सांसद तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको पहलमा मेडिकल कलेज सञ्चालनमा आउन सफल भएको हो । यो उपलब्धिलाई कोशी प्रदेशका लागि ऐतिहासिक उपलब्धि मानिएको छ ।

वि.सं. २०६१/६२ मै प्रारम्भिक तयारी पूरा भए तापनि जनआन्दोलनलगायत विविध कारणले प्रक्रिया रोकिएको मेडिकल कलेजको सपना करिब दुई दशकपछि साकार भएको हो ।

विभिन्न सरकार र मन्त्रीहरूको पालासँगै पटक–पटक निर्णय लिइए पनि कार्यान्वयनमा आउन नसकेको मेडिकल कलेज यसपटक भने डा. शर्माको नेतृत्वमा निरन्तर दबाब, संवाद र रणनीतिका साथ सञ्चालनमा ल्याइएको हो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कोशी अस्पतालसँग सहकार्य गरी मेडिकल कलेज सञ्चालन गर्ने निर्णय भए पनि त्यो निर्णय पनि कार्यान्वयन हुन सकेन । त्यसपछि सांसद डा. शर्मासँगै कांग्रेस नेता डा. शेखर कोइराला समेत सक्रिय भई मेडिकल कलेजको दीर्घकालीन समाधानका लागि रणनीति बनाइयो ।

प्रधानमन्त्री, मन्त्रीहरू, चिकित्सा शिक्षा आयोग र पूर्वाञ्चल विश्वविद्यालयसँग लगातार संवाद गर्दै कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइयो । अन्ततः निरन्तर प्रयासले मेडिकल कलेज सञ्चालन सम्भव भएको कांग्रेस सांसद डा.सुनिल शर्मा बताउँछन् ।

डा. शर्माले भने, ‘यो केवल एउटा शैक्षिक संस्था सुरु हुनु मात्र होइन, कोशी प्रदेशका जनताको स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवात हो । लाखौँ नागरिकले अब आफ्नै प्रदेशमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।’

यस ऐतिहासिक उपलब्धिमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै डा. शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, राष्ट्रियसभा सदस्य गोपी अछामी, गठबन्धन सरकारका नेताहरू, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, स्थानीय प्रतिनिधि, संघ–संस्था, बुद्धिजीवी र आम नागरिकप्रति आभार व्यक्त गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा लेख्दै मेडिकल कलेज सञ्चालनलाई ‘विश्वविद्यालय स्थापनाको तीन दशकपछि प्राप्त ऐतिहासिक उपलब्धि’ भन्दै डा. कोइराला, डा. शर्मा र अन्य पक्षप्रति धन्यवाद प्रकट गरेका छन् ।

डा. सुनीलकुमार शर्मा प्रतिनिधिसभाका तलब/भत्ता नलिने एक मात्र सांसद हुन् । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका उनी उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याएर निःशुल्क उपचार गराउने कार्य निरन्तर गरिरहेका छन् ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा ५० शय्याको निःशुल्क क्याबिन समेत सञ्चालनमा आएको छ । उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने देशका सात स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =