ग्लोवल रिच र जेभियर कलेजले आयोजना गरेका थिए गैरकानुनी एजुकेशन फेयर 

काठमाडौं । ग्लोवल रिच र जेभियर इन्टरनेशनल कलेजले गैरकानुनी रुपमा एजुकेशन फेयर आयोजना गरेको पाइएको छ ।

काठमाडौँको डिल्लीबजार स्थित ग्लोवल रिच र जेभियर कलेजले अष्ट्रेलियन एजुकेशन फेयरको नाममा गैरकानुनी काम गरेको पाइएको हो ।

नेपालको प्रचलित कानुनअनुसार शिक्षासँग सम्बन्धित कुनै पनि एजुकेशन फेयर सञ्चालन गर्नका लागि सम्बन्धित सरकारी निकायबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, ग्लोवल रिच र जेभियरले सो प्रक्रिया बेवास्ता गर्दै अनुमति नलिइकनै फेयर आयोजना गरेका हुन् ।

बिना अनुमति कलेजभित्रै आयोजना गरिएको यो कार्यक्रमप्रति सरोकारवाला निकायले गम्भीर चासो व्यक्त गरेका छन् । गैरकानुनी रूपमा कलेजभित्रै एजुकेशन फेयर आयोजना गरेको पाइएपछि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चासो लिएको थियो ।

विद्यार्थीलाई परामर्श दिने नाममा निजी स्वार्थपूर्ति गर्दै कानुन मिचेको पाइएपछि इक्यानले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा औपचारिक पत्रमार्फत कारबाहीको माग गरेको थियो ।

इक्यानको निवेदनपछि विभागका प्रतिनिधिहरू कार्यक्रम स्थल पुगेका थिए । विभागले तत्काल फेयर रोकेको थियो भने ग्लोवल रिच र जेभियरविरुद्ध कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाएको जनाएको छ ।

विभागका निर्देशक भरत आचार्यले आधिकारिक निकायसँग अनुमति नलिएर कलेजमा फेयर संचलान गर्नु कानुन विपरीत भएको बताए । उनले इक्यानबाट निवेदन आएपछि जेभियरमा चलेको फेयर रोकेको र आवश्यक कारबाहीको तयारी भइरहेको बताए ।

‘हामीले यो एजुकेशन फेयर रोकेका छौँ, किनभने यो स्पष्ट रूपमा गैरकानुनी हो । अनुमति नलिई कार्यक्रम गर्न पाइँदैन । कारबाहीको प्रक्रिया अघि बढिरहेको छ’ उनले भने ।

विभाग स्रोतका अनुसार फेयर रोक्न जाँदा ग्लोवल रिच र जेभियरका केही कर्मचारीले विभागका प्रतिनिधिहरूलाई दुव्र्यवहार समेत गरेका थिए ।

यता, घटनाप्रति शिक्षा मन्त्रालयले समेत गम्भीर चासो व्यक्त गरेको छ । मन्त्रालयका एक उच्च अधिकारीले उक्त फेयरको लागि अनुमति नलिइएको बताए ।

उनले जेभियर कलेज र ग्लोवल रिचलाई कारबाहीका लागि प्रक्रिया थालेको बताए । उनका अनुसार, फेयरमा सहभागी भएका अन्य विश्वविद्यालयहरूमाथि पनि आवश्यक अनुसन्धान सुरु भइसकेको छ । ‘विदेशी विश्वविद्यालयलाई समेत कानुनी दायरामा ल्याउने तयारीमा छौँ । यस्तो गैरकानुनी कार्यक्रममा सहभागी नहुन निर्देशन दिइसकेका छौँ,’ ती अधिकारीले भने ।

शिक्षा मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको तयारी गरिरहे पनि जेभियर कलेज र ग्लोवल रिचले नियम कानुनलाई अटेर गरिरहेका छन् । उनीहरूले नियमन निकायलाई बेवास्ता गर्दै आएका छन् ।

जेभियर इन्टरनेशनल कलेजका सञ्चालक लोकबहादुर भण्डारीले भने आफ्नो कलेजले कुनै गलत काम नगरेको दाबी गरे । उनले कलेजले आफ्नै विद्यार्थीहरूलाई ठगीबाट जोगाउन परामर्श कार्यक्रम आयोजना गरेको बताए ।

भण्डारी भन्छन्, ‘हामीले त विद्यार्थीलाई जानकारी दिन चाहेका थियौँ । जब अन्य परामर्शदाताले बाहिर लगेर कुरा गर्छन्, त्यो हुने, हामीले कलेजमै कुरा गर्दा कसरी गलत हुन्छ ?’

तर, ग्लोवल रिच नेपालका सञ्चालक नारायण बजाज भने यस विषयमा मिडियासँग बोल्नै चाहेनन् । मकालुखबरले सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिएनन् । साथै, संस्थाका अन्य कर्मचारीहरू पनि मौन देखिए ।

यो पनि पढ्नुहोस्ः इक्यानको पहलपछि रोकियो जेभियर कलेजले आयोजना गरेको एजुकेशन फेयर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =