जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा हुँदै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता हुने भएको छ । दुई दलबीच सहकार्यको औपचारिक प्रक्रिया सुरु हुँदैछ ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बिहीबार आयोजित एक कार्यक्रममा दुई पार्टीबीचको सहकार्यको घोषणा गर्ने जानकारी दिएका छन् । ‘दुई पार्टीबीच एकता हुन्छ,’ उनले भने, ‘अहिले एकताउन्मुख कार्यगत एकता घोषणा गर्न लागेका हौँ ।’
राईले जनता समाजवादी पार्टी नेपालबाट पार्टी विभाजन गरी अहिलेको जसपा गठन गरेका थिए । तर, उनको नेतृत्वको जसपा मधेस केन्द्रित सात दलको मोर्चामा सहभागी छैन । उता, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध छ ।
हाल प्रतिनिधिसभामा जसपाका ७ सांसद छन् भने राष्ट्रिय मुक्ति पार्टीको सदनमा कुनै उपस्थिति छैन । यो सहकार्य आगामी राजनीतिक समीकरणमा असर पार्ने गरी अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।








