एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा जर्नल ‘संग्रहालय’ विमोचन

काठमाडौं । एनसेल फाउन्डेसन र अन्तर्राष्ट्रिय संग्रहालय परिषद्नेपालको सहकार्यमा तयार गरिएको अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ सार्वजनिक गरिएको छ ।
नारायणहिटी दरबार संग्रहालयमा मंगलबार आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे ।
कार्यक्रममा मन्त्री पाण्डेले संग्रहालयको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा निजी क्षेत्रको सहभागितालाई सकारात्मक रूपमा लिँदै एनसेल फाउन्डेसनको योगदानको प्रशंसा गरे । उनले भने, ‘नेपालका संग्रहालयले नेपालीको गौरव बढाएका छन्, यसको संरक्षण हामी सबैको दायित्व हो ।’
सरकार संग्रहालयसम्बन्धी दर्ता, मापदण्ड र व्यवस्थापनका विषयमा नीतिगत तयारीमा रहेको जानकारी पनि उनले दिए ।
एनसेल फाउन्डेसनकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षणलाई फाउन्डेसनले प्राथमिकतामा राखेको बताइन् । ‘सार्वजनिक–निजी साझेदारीमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न पाउँदा हामी खुसी छौं,’ उनले भनिन् ।
परियोजनाको हिस्साका रूपमा नेपालमा संग्रहालय स्थापनादेखि हालसम्मको यात्रा समेटिएको श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माण गरिएको छ । वृत्तचित्रले संग्रहालयको इतिहास, वर्तमान अवस्था र भावी सम्भावनालाई उजागर गरेको आयोजकको भनाइ छ ।
नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीका अनुसार परियोजनाअन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १०० भन्दा बढी संग्रहालयकर्मीलाई तालिम दिइएको छ । संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय अभ्यास र व्यवस्थापनका विषयमा केन्द्रित तालिम स्थानीय, प्रदेश र संघीय सरकारसँगको समन्वयमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि युनेस्को प्रतिनिधि याको दु तोइले नेपालका संग्रहालयले शिक्षा, सांस्कृतिक प्रवद्र्धन र सामुदायिक संवादमा खेलेको भूमिकालाई सराहना गर्दै थप विकासको खाँचो औंल्याए ।
परियोजनाले राष्ट्रिय संस्कृति नीति, संविधानमा स्थानीय सरकारलाई दिइएको अधिकार तथा दिगो विकास लक्ष्यमा टेवा पुगेको सहभागीहरूको भनाइ छ । उनीहरूले यस्ता परियोजना निरन्तर चलिरहनुपर्नेमा जोड दिएका छन् ।
सहकार्यको यो पहलले निजी क्षेत्रका अन्य संस्थालाई पनि सम्पदा संरक्षण र प्रवद्र्धनमा संलग्न हुन प्रेरणा दिने अपेक्षा गरिएको छ ।








