पर्यटकको पर्खाइमा भक्तपुरको ‘नौका बिहार’ (तस्बिरहरू)

काठमाडौँ । भक्तपुर कमलपोखरीको ‘नौका बिहार’ यतिखेर पर्यटकको पर्खाइमा छ ।
गत वैशाख १ गतेबाट आन्तरिक पर्यटन प्रवर्धन तथा मनोरञ्जनका लागि सञ्चालनमा ल्याइएको ‘नौका बिहार (डुङ्गा)’ अहिले खाली अवस्थामा छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘नौका बिहार’ मा चाडबाड र बेलामौकामा मात्र पर्यटकहरू सयर गर्न आउने उक्त पोखरीका कर्मचारी सञ्जय गोझाले बताए ।
उनले भने ‘कहिलेकाहीँ, चाडबाडको समयमा हुन्छ नत्र अरू बेला खास्सै हुदैन् ।’
त्यस्तै भक्तपुर नगरपालिकाको कर शाखाबाट प्राप्त जानकारी अनुसार उक्त पोखरीमा डुङ्गा राख्नका लागी करिब ५ लाख खर्च भएको थियो । शाखाका एक कर्मचारीका अनुसार हालसम्म ‘नौका बिहार डुङ्गा’ बाट घाटा भएको छैन भने नाफा पनि भएको छैन ।
उनले मकालुखबरसंग कुराकानी गर्दै भने ‘कर्मचारीलाई तलब दिन पुगेको छ, खर्च दिन पुगेको छ ।’
साथै उनले कमलपोखरीको सुन्दरदृश्य अवलोकन गर्दै मनोरञ्जनका लागि ‘नौका बिहार’ मा सयर गर्न आन्तरिक पर्यटकहरूलाई आग्रह गरे ।
भक्तपुर कमलपोखरीको नौका बिहार मा सयर गर्नका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क लाग्दछ ।
विद्यार्थी, १० वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक, असक्त तथा अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत छुट गरी ५० रुपैयाँ मात्रै लाग्ने नगरपालिकाले जानकारी दिएको छ ।









