बयालपाटा अस्पताललाई सांग्रिला बैंकको साथ, उपचारमा सहजताका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान

काठमाडौं ।  सुदूरपश्चिमको अछाममा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरी नागरिकको भरोसाको केन्द्र बनेको बयालपाटा अस्पतालले सांग्रिला डेभलपमेन्ट बैंकबाट एक थान अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त उपकरण हस्तान्तरण गरेको हो ।

अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको साँफेबगर शाखाका प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई सो उपकरण हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै निर्देशक डा. पाठकले बैंकको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, .निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा यो अक्सिजन कन्सन्ट्रेटरले बिरामीको उपचारका लागि अक्सिजन व्यवस्थापन गर्न ठूलो सहजता ल्याउनेछ ।’

५० शय्याको क्षमता भएको यस अस्पतालले दैनिक २०० देखि २५० जना र वार्षिक ७० देखि ८० हजार बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । डा. पाठकका अनुसार, अक्सिजनको निरन्तर उपलब्धता बिरामीको जीवन रक्षाका लागि महत्वपूर्ण हुने हुँदा बैंकको यो सहयोगले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०८०/८१ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य दुर्गम क्षेत्रमा पनि यस्तै सहयोग गरेको जनाएको छ । यसअघि बैंकले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एक-एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।

बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, बैंकले हाल देशभरका १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र उत्कृष्ट आन्तरिक नियन्त्रण प्रणालीलाई आत्मसात् गर्दै आम नागरिकको विश्वास जित्न सफल भएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझै विस्तार गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =