एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

काठमाडाैं । मनसुनको मौसममा बढ्ने विपद् जोखिमलाई ध्यानमा राख्दै, एनएमबि बैंकले नेपाल प्रहरीलाई विभिन्न उद्दार सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बैंकले १६ जनासम्म अट्ने सेल्फ–लेभलिङ राफ्ट, लाइफ ज्याकेट तथा अन्य आपतकालीन उपकरणहरु मंगलबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गिमिरेले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सामग्रीहरु औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।

बैंकले हस्तान्तरण गरेको सामग्रीमा लाइफ बोट, लाइफ ज्याकेट तथा अन्य आपतकालीन उद्दार उपकरणहरू समावेश छन् । मनसुनको समयमा बाढी, डुबान तथा जलजन्य विपद्को जोखिम उच्च हुने भएकाले, यस्तो सहयोगले प्रहरीको उद्दार क्षमतामा थप बल पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

एनएमबि बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्व वहन गर्दै आएको जनाएको छ । यस्ता पहलहरूले समुदायप्रति बैंकको प्रतिबद्धता झल्किने बैंकको भनाइ छ ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =