कागतीले उचित बजार नपाउँदा मारमा किसान

झापा । धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित छन् ।

आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काएका छन् । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उनीजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् ।

भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताए । ‘ठूलो लगानी र मेहनत गरेर किसानले कागती फलाउनु भएको छ,’ उनी भन्छन्, ‘बजार लग्यो बिक्री हुँदैन । भारतबाट भित्रिएका कागतीले बजार पूरै कब्जा गरेको छ । घाटा खाएर बेच्नु पर्दा बित्थामा कागतीखेती गरिएछ जस्तो लाग्न थालेको छ ।’

कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षयता किसानलाई कागतीखेतीतर्फ प्रोत्साहित गरिरहेका छन् । तर उत्पादन बढेसँगै त्यसको बजार सुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

पाकेको कागतीको फल बिक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलोलगायतका सह उत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने आचार्य बताउछन् ।

न्यूनतम समर्थन मूल्य तोकेर बिक्री नभएका कागती स्थानीय तहहरुले किनिदिने व्यवस्था हुन सके किसानहरूमा उत्साह थपिने उनको सुझाव छ ।

विगतमा चिया बगान मासेर व्यावसायिक कागतीखेती गर्दै आउनुभएका बिर्तामोड नगरपालिका–६ का कमलराज विमलीले भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले यहाँको बजारलाई खर्लप्पै खाएको बताए ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले कागतीको बजार उत्साहजनक नहुँदा किसानहरू निराश बन्न थालेको स्वीकार गर्दै समाधानका उपाय खोज्ने बेला आएको बताए । झापामा ३१० हेक्टर क्षेत्रफलमा कागतीखेती हुँदै आएकामा हाल खेती घटेर २७० हेक्टरमा झरेको छ ।

कागतीखेतीका लागि झापा उर्वर भूमि रहेको जनाउँदै उनले स्थानीय खपतले मात्र स्वदेशी कागतीको बिक्री धान्न नसक्ने बताए । विगतमा बोटबाटै टिपेर राम्रो भाउमा कागती किनेर लैजाने व्यापारीहरू अहिले आउन छाडेको किसानहरू बताउँछन् ।

भारतबाट भित्रिने सस्तो कागतीतिर स्थानीय व्यापारीहरू आकर्षित भएपछि किसानहरू साना सवारीसाधनमा गाउँ र सहरका गल्ली चहारेर पोकापोकामा कागती बेच्न प्रयास गरिरहेका छन् ।

अर्जुनधारा नगरपालिका–३ बाट सिटी रिक्सामा कागती बेच्दै धुलाबारी आइपुग्नुभएका कुशल थापाले दिनभरि तातो घाममा डुल्दा दश किलो कागती बिक्री भएको बताए । ‘हात्ती र बाँदरले बिगार नगर्ने बाली भनेर जङ्गल छेउछाउका बासिन्दालाई अन्नखेती मासेर कागतीखेती गर्न लगाइयो,’ उनले भने, ‘अहिले आएर बिक्री हुन छाड्यो । फलेका कागती बोटमै कुहेर गयो भने किसान कसरी बाँच्ने ?’

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादहलगायतका स्थानीय तहमा किसानले घरैपिच्छे कागतीखेती गरेका छन् भने ठूलो क्षेत्रफलमा खेती गर्नेहरू बढेका छन् । खेती विस्तारसँगै बजारीकरणको सकस बढ्दै गएको छ ।

सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए ।

कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् ।

जिल्लामा कम्तीमा ३५० किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई यस खेतीमा लगाएका छन् । यहाँ सुन–१, सुन–२, मद्रासी, युरिका र एनपिआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ ।

कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरू स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।

धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदा हुने कृषि ज्ञान केन्द्रका प्रमुख विष्टको बताउछन् ।

उनका अनुसार जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच ५.५ देखि ६.५ सम्म भएको दोमट माटो कागतीखेतीका लागि उपयुक्त मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =