असफलतामा सफलता देख्ने उद्यमी आदित्य झाको व्यावसायिक यात्रा

काठमाडौं । तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिका आदित्य झा, अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाएका एक उद्यमी, परोपकारी, समाजसेवी छन् ।

उनी छन् नेपाली मुलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ का सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका झालाई धेरैले प्रश्न गर्छन्, ‘गाउँको मान्छे तपाईँले कसरी यस्तो अवसर पाउनुभयो ?’

झाले यो प्रश्न धेरै पटक सुनेका छन् । कति ठाउँमा वक्ताका रूपमा आफैँ यसबारे बोलेका छन् । उनलाई लाग्छ, मानिसहरू प्रायः परिस्थितिले अल्झिन्छन् र परिस्थितिबाटै सफलताको खुड्किलो चढ्छन् ।

उनका बुबा वकिल थिए । मधवामा करिब ९० बिघा जमिन थियो । शिक्षित र सम्पन्न परिवार भएकाले उनले फरक अवसर पाए । ‘मेरो फाइदा के भयो भने मैले राम्रो शिक्षा पाएँ । जवारलाल नेहरु विश्वविद्यालय पिएचडी गरे । जब तपाईं यस्ता उत्कृष्ट संस्थामा जानुहुन्छ, तपाईंको भेट ठूला मानिससँग हुन्छ, तपाईंको दृष्टि फराकिलो हुन्छ’, झा सुनाउछन् ।

उनले दिल्ली विश्वविद्यालय हंसराज कलेजबाट स्नातक र कुरुक्षेत्र विश्वविद्यालयबाट गणित विषयमा एमएससी पास गरे । सन् १९७९ देखि १९८४ सम्म जवाहरलाल नेहरु विश्वविद्यालयमा कम्प्युटर विज्ञानको शोधकर्ताका रूपमा काम गरे र पिएचडी उपाधि हासिल गरे । त्यसपछि उनको यात्रा, फ्रान्स, सिङ्गापुर, अष्ट्रेलिया हुँदै क्यानडातर्फ मोडियो ।

उद्यमामा कसरी मिल्यो सफलता ? उनी भन्छन्, ‘यसको जवाफ म धेरै बुद्धिमान भएर होइन, तर सही वातावरण र परिस्थिति पाएर हो । मानिसहरू प्रायः यो कुरा राम्रोसँग बुझ्दैनन् । तपाईंको सफलता केवल तपाईंको कारणले होइन । यो त सामाजिक परिस्थिति कस्तो छ त्यसमा निर्भर गर्छ ।

पिएचडीपछि झाले सिङ्गापुरमा पाँच वर्षसम्म एक अमेरिकी कम्पनीको परामर्शदाताको रूपमा काम गरे । त्यहाँको नेशनल युनिभर्सिटी अफ सिङ्गापुरमा उनले ‘भिजिटिङ फ्याकल्टी’का रूपमा कम्प्युटर साइन्स पडाउँथे । सिङ्गापुरमै हुँदा उनले क्यानडाको स्थायी बसोबासका लागि आवेदन दिए र तीन महिनामा नै अनुमति आयो ।

क्यानडा पुगेको दुई महिनामा झा एक कम्पनीमा निर्देशकका रूपमा नियुक्त भए । दुई वर्षमै त्यही कम्पनीको जनरल म्यानेजर भए । करिब पाँच वर्षपछि उनले त्यो कम्पनी छोडे ।

एक हजार डलर लगानी गरेर आफ्नै कम्पनी खोल्नुभयो –आइसोपिया इन्क । करिब अढाइ वर्षपछि त्यो कम्पनी १० करोड अमेरिकी डलरमा बिक्री भयो । ‘आइसोपिया इन्क’ क्यानडाको ऐतिहासिक सफल स्टार्टअपको रूपमा गनिन्छ । यसलाई सन् २००१ मा अमेरिकी प्रविधि कम्पनी सन माइक्रोसिस्टम इन्कले खरिद गरेको थियो ।

अरूले जहाँ असफलता देख्छन्, झाले त्यहीँ अवसर देखे । कसैले उनलाई टोरोन्टोमा क्याडबरीको चकलेट कारखाना बन्द हुँदैछ भनेर सुनाए । पचास वर्ष पुरानो त्यो कारखाना घाटामा थियो । जसकारण क्याडबरीले बन्द गर्दै थियो । त्यतिबेला झाले सोचे, ‘म किन्छु ।’ तर उनका साथीहरूले भने, ‘तिमी कसरी चलाउँछौँ ? क्याडबरी नै बन्द गर्दैछ । तिमीले कसरी नाफामा लैजाने ?’

झाको जवाफ थियो, ‘म चतुर छु, विश्वासी छु । म सक्छु ।’

त्यो कम्पनी खरिद गरेको एक वर्षमै नाफामा आयो । साढे दुई वर्षपछि त्यो कारखाना बिक्री गरिदिए । त्यो सन् २००७ देखि २०१० तिरको हो ।

त्यसपछि वासिङ्टन डिसीको सफ्टवेयर कम्पनी डिजी मार्केटमा झाको दृष्टि पर्‍यो । त्यो कम्पनी विश्व बैंकको लगानीमा चलेको थियो तर बन्द हुने अवस्थामा थियो ।

डिजी मार्केट किन्दै गर्दा उनलाई लागेको थियो, ‘यो कम्पनीबाट म १० करोड डलर वा सायद एक अर्ब पनि कमाउन सक्छु, वा केही नकमाउन पनि सक्छु । तर एउटा क्षेत्रमा त हात हाल्नै पर्छ’, उनले त्यो क्षेत्र रोजे ।

झाले ‘पोआ एजुकेसन फाउन्डेसन’ मार्फत धेरै परोपकारी र समाजसेवी काम गरिरहेका छन् । यसै फाउन्डेसनले झाको पहलमा सन् २००४ मा स्थापना भएको ‘नेपाल लाइब्रेरी फाउन्डेसन’ मार्फत नेपालमा पुस्तकालयको प्रवर्धन र विशेष गरी इन्टरनेट नपुगेका ठाउँहरूमा विद्युतीय पुस्तकालय स्थापना गर्ने महत्त्वपूर्ण काम गर्यो । त्यसरी नै २०२० तिर काठमाडौँका १० वटा विद्यालयमा कम्प्युटर वितरण गर्ने अभियानमा पनि झाले सहकार्य गरेका थिए ।

यस्ता परोपकारी र सामाजिक योगदानका कारण झालाई थुप्रै सम्मान र उपाधि प्राप्त भए । उहाँले सन् २०१२ मा क्यानडाको सबैभन्दा ठूलो नागरिक सम्मान ‘अर्डर अफ क्यानडा’ पाए ।

त्यस्तै, सन् २००९ मा टोरन्टो मेट्रोपोलिसन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी पाए । त्यसबाहेक टोरन्टो विश्वविद्यालयको स्कुल अफ बिजनेसमा ७२ मिलियन डलर बराबरको पुँजी सङ्कलन अभियान तथा युनिसेफ क्यानडाका विभिन्न अभियानमा समेत झाको उल्लेखनीय भूमिका रह्यो ।

स्वभाविक प्रश्न थियो– यी सबै अनुभव संगालेको व्यक्तिको जीवनमा कस्ता उतार चढाव भए होलान् ?”

‘धेरै उतारचढाव भए । म विभिन्न बिजनेस स्कुलहरूमा बोल्न जान्छु । त्यहाँ म आफ्ना अनुभव सुनाउँछु । एउटा साँचो कुरा के भने मलाई ‘सफल’ भन्ने शब्द खासै मन पर्दैन । किनभने हाम्रो जीवनमा सफलताभन्दा धेरै असफलता हुन्छ’, उनी भन्छन्, ‘प्रायः सबै मानिसको जीवनमा यस्तै हुन्छ । त्यसैले हामीले सफलताभन्दा असफलतालाई बुझ्न सिक्नुपर्छ ।’

झालाई लाग्छ, सफलता भनेको कुनै स्थायी कुरा होइन, बरु एउटा क्षणिक घटना मात्र हो । उद्यम गर्न चाहने मानिसले त झन् धेरै उतारचढाव भोग्नपर्छ । ‘हरेक व्यक्ति असफलताबाट सिकेर अब्बल बन्ने हो । मेरो जीवनमा पनि सफलताभन्दा धेरै असफलता छन् । तर हामी त्यसको चर्चा गर्दैनौँ । मानिसहरू असफलताको कुरा गर्न चाहँदैनन्,’ झाले हाँस्दै सुनाए ।

‘कहीँ कतै नेपालका धनाढ्यहरूको सूचीमा मेरो नाम पनि देखिन्छ । तर त्यो साँचो होइन । धनी ठानेर वा नमानेर खासै के फरक पर्छ र ?’, उनको प्रश्न थियो, ‘मुख्य कुरा के हो भने, तपाईंले कमाएको पैसाले के गर्नुभयो ? बच्चाहरूका लागि राख्यौँ, बिहेमा खर्च गर्यौं, त्यसको खास अर्थ भएन । मेरा छोराछोरी आफ्नै पेसा व्यवसायमा छन् । मेरो सम्पत्ति उनीहरूका लागि होइन । अब म धेरै व्यवसाय गर्न पनि चाहन्न ।’

उद्यमशीलता गर्न जागिरको भर पर्नै पर्दैन, डिग्रीको प्रमाणपत्रको पनि खाँचो पर्दैन । केवल व्यवसाय कसरी चलाउने भन्ने सीप र सल्लाह चाहिन्छ । त्यसका लागि मोबाइल एपमार्फत उनीहरूलाई प्रशिक्षित गर्ने, व्यवसायको खातापाता राख्नेदेखि वित्तीय अनुशासन र बचतको बानी बसाल्नेसम्मका योजना छन् झाका ।

‘हरेक दिन कति कमाइ भयो भनेर रेकर्ड राख्न, बैंक र वित्तीय संस्थासँग कसरी पहुँच राख्ने र त्यसबाट लाभ लिने भन्ने पनि सिकाउन सकिन्छ । स्वरोजगार हुनु आफैँमा सम्मानको कुरा हो’, उनी भन्छन् । त्यसका लागि कति समयको योजना हो ? कैले सुरु हुन्छ ?

झाले सरल जवाफ दिए, ‘जब मेरो बैंक खातामा त्यसका लागि पैसा हुनेछ ।’

झा अब आफ्नो जन्म गाउँ जनकपुरमा बनाएको एउटा फार्म हाउसमा बसेर बाँकी जीवन त्यहीँ रमाउन चाहन्छन् । ‘त्यहाँ १२५ वटा आँपका बोट छन्, ५० लिची, ७५ कागती र ५० हाराहारी अमलाका बोट छन् । त्यही मेरा लागि अहिलेको खुसी हो’, झाले आफ्नो योजना सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =