महालक्ष्मी विकास बैंक र HDFC बैंकबीच समझदारी, भारतबाट नेपाल सजिलै पैसा पठाउन मिल्ने

काठमाडौं । अब भारतबाट नेपाल पैसा पठाउन झन् सजिलो हुने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको प्रतिष्ठित वित्तीय संस्था एचडीएफसी (HDFC) बैंकबीच सीमा–पार (Cross Border) बैंकिङ सेवा विस्तारका लागि समझदारी भएको छ ।
दुवै बैंकबीच भएको उक्त सहकार्यपछि महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत अब भारतमा रहेका व्यक्तिहरूले विभिन्न बैंकिङ माध्यम प्रयोग गरी नेपालमा सिधै रकम पठाउन सक्नेछन् ।
यस सहकार्यसँगै महालक्ष्मी विकास बैंक, भारतबाट नेपाल भुक्तानी प्रणाली सञ्चालन गर्ने पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत तयारी पूरा गर्दै परिक्षण कारोबारसमेत सम्पन्न गरिसकेका छन् ।
एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सर्भिस (CMS) अन्तर्गत सीएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट (e-CMS) सेवा प्रयोग गर्न महालक्ष्मी विकास बैंकले पहुँच प्राप्त गरेको छ । यस प्रणालीमार्फत NEFT, RTGS तथा FT जस्ता सुविधाबाट भारतको एचडीएफसी बैंकमार्फत सिधै नेपालस्थित महालक्ष्मी बैंक खातामा रकम पठाउन सकिनेछ ।
त्यस्तै, भारतका अन्य बैंकहरूको चेक समेत जम्मा गरी रकम नेपाल पठाउने सुविधा पनि उपलब्ध हुनेछ ।
बैंकले विश्वास लिएको छ कि यस सहकार्यले नेपाल–भारतबीचको वित्तीय सम्बन्धलाई अझ मजबुत बनाउनेछ भने सीमा–पार व्यापार तथा रेमिट्यान्स प्रवाहमा समेत ठुलो सहयोग पुर्याउनेछ ।
साथै, बैंकले हालै मात्र आफ्ना ग्राहकहरूका लागि “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा पनि सुरु गरेको छ । बैंकले “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित डिजिटल नवप्रवर्तनमा ध्यान दिँदै आएको छ ।
हाल महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा र ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।








