३५ वटा स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण

काठमाडौँ । स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ ।

विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सङ्घीय, प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पताल गरी ३५ वटा स्वास्थ्य संस्थालाई आज करिब रु ७० करोड बराबरको स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरिएको हो ।

विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले ती अस्पताललाई आज स्वास्थ्यजन्य उपकरण तथा औजारहरु हस्तान्तरण गरेका हुन् ।

विभागका आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले आर्थिक वर्ष २०८१/८२ मा खरिद गरिएका स्वास्थ्यजन्य उपकरण तथा औजारहरु स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताए ।

उनकाअनुसार वीर अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, राष्ट्रिय क्षयरोग रोग नियन्त्रण केन्द्र, निजामती कर्मचारी अस्पताल, सहिद गङ्गलाल हृदय राष्ट्रिय केन्द्र, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, बैतडी अस्पताल, दैलेख अस्पताल, कान्ति वाल अस्पताल लगायत ३५ वटा अस्पताललाई स्वास्थ्य जन्य उपकरण हस्तान्तरण गरिएको हो ।

निर्देशक डा रायमाझीले अस्पतालको माग र आवश्कताका आधारमा उपकरण वितरण गरिएको जानकारी दिए । ती स्वास्थ्य संस्थालाई मुटुको उपचारका लागि अत्याधुनिक उपकरण, मिर्गौलाको डायलासिस उपकरण, जनरल शल्यक्रिया, प्रयोगशालाका लागि अत्याधुनिक उपकरण, क्षयरोग स्क्रिनिङ, पेटसम्बन्धी रोगको पहिचान लगायतका उपकरण वितरण गरिएको छ ।

कार्यक्रममा विभागका महानिर्देशक डा बाराकोटीले वितरण गरिएका उपकरणले बिरामीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने बताए । उनले अस्पतालहरुले प्राप्त गरेका उपकरणको सही सदुपयोग गर्नुसमेत आग्रह गरे ।

मन्त्रालयका अतिरिक्त सचिव डा श्रेष्ठले राज्यले ठूलो रकम खर्च गरेर बिरामीको उपचारमा उपकरण खरिद गरेको भन्दै तुरुन्तै ती उपकरणको प्रयोगमा ल्याउन आग्रह गरे ।

महाशाखाका निर्देशक डा रायमाझीका अनुसार अहिलेसम्म आव २०८१÷८२ मा रु दुई अर्ब एक करोड ९१ लाख ८६ हजार ८४ बराबरको कूल १४ हजार ६१ वटा उपकरण तथा औजारहरु अस्पताललाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =