एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एकल ऋण लगानी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एकल ऋण लगानी गर्ने भएको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको प्रवद्र्धनमा निर्माण भइरहेको २.९ मेगावाट क्षमताको यस आयोजनाको वित्तीय व्यवस्थापन एनएमबि बैंकले गर्ने सम्झौता भएको हो ।
करिब ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहने छ ।
सम्झौता कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले आयोजनालाई तोकिएको समय र लागतभित्रै सम्पन्न गर्न आग्रह गरे ।
जवाफमा मन्दाकिनी हाइड्रोपावरका अध्यक्ष शरदकुमार दाहालले बैंकले गरेको सहयोगप्रति धन्यवाद दिँदै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीय सरकारसँग समन्वय गर्दै आयोजना अगाडि बढाउने स्पष्ट पारे ।
यसअघि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना वि.सं. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ । सो आयोजनामा पनि एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणमार्फत ऋण लगानी भएको थियो ।
एनएमबि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली (Environmental and Social Risk Management System) लागू गरिसकेको जनाएको छ । बैंकले वातावरणीय तथा सामाजिक नीति अनुरूप जलविद्युत आयोजनामा समावेशी र उत्तरदायी लगानी गर्दै आएको छ ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।








