ज्योति विकास बैंकद्वारा Interbank Teller QR भुक्तानी सेवा सञ्चालन

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा नयाँ डिजिटल सेवा ‘Interbank Teller QR Payment’ सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवाले अब बैंकमा खाता नभएका व्यक्तिहरू पनि आफ्नो बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ज्योति विकास बैंकका कुनै पनि शाखाबाट सजिलै नगद झिक्न सक्ने सुविधा प्रदान गरेको छ ।
यो सेवामा, सेवाग्राहीले सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपबाट ज्योति विकास बैंकको शाखामा तोकिएको QR कोड स्क्यान गरी नगद निकाल्न सक्नेछन् । यस सेवाको लागि सेवाग्राहीको नेपालभित्रको बैंकमा खाता हुनु र मोबाइल बैंकिङ सेवा सक्रिय हुनु आवश्यक छ भने, ज्योति विकास बैंकमै खाता हुनु आवश्यक छैन। साथै, वैध परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ ।
ज्योति विकास बैंकले डिजिटल प्रविधिको उपयोग गरी ग्राहकको सुविधा र पहुँचलाई सहज बनाउन यस सेवा थप गरेको जनाएको छ । बैंकले हालै ISO 27001:2022 अन्तर्राष्ट्रिय सूचना सुरक्षा प्रमाणपत्र पनि प्राप्त गरेको छ, जसले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीको मजबुत र विश्वासिलोपन पुष्टि गर्दछ ।
त्यस्तै, बैंकले Voice Audio Box QR सेवा, क्रस-बोर्डर भुक्तानी सेवा, Cardless Cash Withdrawal, Scan & Withdraw, Video KYC लगायतका आधुनिक बैंकिङ्ग सेवाहरू पनि प्रदान गर्दै आएको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नवजात शिशुहरूको अकाल मृत्यु रोकथाममा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
बैंकले भविष्यमा अझै प्रभावकारी र नविनतम डिजिटल समाधानमार्फत ग्राहक सेवा सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।








