केराखेतीबाट १५ लाख आम्दानी गरेका टेकेन्द्र भन्छन्, ‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

कैलाली । टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट १५ लाख आम्दानी गरेका छन् । उनले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाखको केरा बिक्री गरेका थिए ।

‘समयमै उत्पादन हुँदा ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’

धामीले १९ बिघामा केरा खेती गरेका छन् । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् ।

चौध वर्षदेखि केरा खेतीमा संलग्न उनले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केरा खेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ ।

‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न सहयोग गर्ने गरेको छु’, धामीले भने ।

केराखेतीबाट मनग्य आम्दानी हुने गरेको थाहा पाएपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ । ‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन भाडामा लिएर खेती गरिरहेको छु’, उनले भने, ‘मल, पोषक तत्त्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।’

किसानले असारमा केरा रोप्ने गर्दछन् । वर्खा याममा केरा अभाव हुन्छ । धामी उचित मूल्य पाउन किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउछन् । ‘हरेक किसानले असारमा केरा रोप्ने चलन छ । यसपटक मैले मङ्सिरमा केरा रोपे, यो केरा साउनमा उत्पादन हुन्छ, तर मल नपाएर समस्या भएको छ’, धामी भन्छन्, ‘वैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ ।’

धामीले केरा खेतीमा बहुबाली खेती गरिरहेका छन् । ‘केराभित्र तोरी खेती गरेर २४ क्विन्टल फल्यो, अहिले केराबारीमा खुर्सानी लटरम्म फलेको छ’, उनले भने, ‘कामदार अभावले टिप्न सकेको छैन । केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ ।’

धामीसँग नियमित १२ कामदारले रोजगार पाएका छन् । त्यसबाहेक अन्य याममा ज्यालादारीमा कामदार लगाउने गरिएको छ । ‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन’, उनी भन्छन्, ‘बाली बिमामा समस्या छ । तोकिएका कम्पनी बिमा गर्न मान्दैनन् । बिमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ । अहिले मैले ५० लाखको मात्र बिमा गरेको छु । निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ । बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ ।’

अहिले कैलालीका किसानले बारीमा प्रतिदर्जन ४० देखि ४५ मा केरा बिक्री गरिरहेका छन् । तर बजारमा ८० भन्दा बढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् ।

मूल्य बिचका बिचौलियाले पाइरहेको अवस्था छ । नेपालमै केराखेतीको उर्वर भूमिका रुपमा चिनिने टीकापुरमा केरा खेती गर्न चाहने किसानले यस वर्ष भने समयमै बेर्ना पाएनन् ।

आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केरा खेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्त्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउछन् । ‘आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ । बजारीकरणका लागि आवश्यक क्यारेटलगायत सामग्री उपलब्ध गराउने गरेको छ’, कृषि अधिकृत ठाकुर भन्छन्, ‘आयोजनाको दोस्रो चरणमा दुई सय ५० हेक्टर जमिनमा केरा खेती गर्न सघाएको छ । यसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ ।’

आयोजनाले आयोजना क्षेत्रका छ सय ८७ किसानलाई केरा खेतीका लागि सघाएको छ । आयोजनाले पहिलो चरणमा किसानलाई केरा खेतीमा सघाएको थियो ।

आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केरा खेतीमा आकर्षित भएका छन् ।

आयोजना प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउछन् ।

‘युवा कृषिमा लाग्नु राम्रो पक्ष हो । किसान केरामा आत्मनिर्भरतातर्फ गएको देखिन्छ’, उनी भन्छन्, ‘केराबाट पर्याप्त आम्दानी लिन सकिन्छ । केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ ।’ आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन् । तेस्रो चरणमा केरा किसानलाई सघाउने कार्यक्रम तथा बजार विस्तारका लागि सहजीकरण गर्ने गरेको प्रमुख कँडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =