गरिखानेका कथा

विदेशको लाख होइन, स्वदेशको सन्तुष्टिसँग रमाइरहेकी सुनिता

काठमाडौं । ‘विदेशमा लाख कमाएँ, तर परिवारसँग बिताउने केही घडी किनेर ल्याउन सकिनँ… अहिले त्यो कमाइको पनि अर्थ छैन’ यस्तै भावुक शब्दहरू सुनिए सिन्धुलीकी ३९ वर्षीया सुनिता कुमारी घिसिङको मुखबाट ।

जीवनका १२ महत्वपूर्ण वर्ष खाडी मुलुकहरूमा पसिना बगाएर बिताएकी सुनिता अहिले काठमाडौँका सडकहरूमा बिहानदेखि साँझसम्म ट्याम्पु चलाएर गुजारा गरिरहेकी छन् ।

२०६९ सालतिर उनले पहिलो पटक साउदी अरबको रोजगारी रोजिन् । त्यसपछि लेबनान, कुवेत, दुबई र ओमान हुँदै उनले कुल १२ वर्ष खाडी मुलुकमा वेटरको रूपमा काम गरिन् । सुनिता भन्छिन्, ‘विदेश जानु मेरो रहर थिएन, बाध्यता थियो । आमा–बुबालाई दुःख नहोस् भन्ने सोचले म विदेश गएकी थिएँ ।’

विदेशमा रहँदा नियमित आम्दानी थियो, सुविधा सम्पन्न जीवन थियो, तर मनभित्र चिसो खाल्डो भरीरहन्थ्यो– त्यो थियो परिवारको अभाव । ‘खाना राम्रै थियो, तलब पनि राम्रै थियो,’ उनी सम्झन्छिन्, ‘तर त्यो पैसाले बुबाको मुख हेर्न पाउने सुख मिलेन भने के काम ?’

वर्षौं देशभन्दा टाढा रहेकी सुनिता सन् २०२३ मा नेपाल फर्किइन् । बुबाको स्वास्थ्य अवस्था नाजुक भएपछि उनी नेपाल आएकी थिइन् । आमालाई त्यसअघि नै गुमाएकी उनी बुबालाई पनि गुमाउँछु की भन्ने डरले नेपाल फर्किन् । ‘बुबा बिरामी भएको खबरले झस्काइदियो,’ उनी सम्झन्छिन्, ‘आमालाई पहिल्यै गुमाएकी थिएँ, अब बुबालाई पनि गुमाउने डरले म तुरुन्तै फर्किएँ ।’

नेपाल फर्किएको केही सातामै बुबाको पनि मृत्यु भयो । उनी भन्छिन्, ‘मैले विदेशमा पसिना बगाए पैसा कमाए, तर जसको लागि गरेको थिएँ ती नै रहेनन् । अब विदेश जान मनै लाग्दैन ।’

अनि फेरी उठिन् सुनिता…

परिवार गुमाउँदा भावनात्मक रूपमा थलिएकी सुनिताले अब देशमै केही गर्ने अठोट गरिन् । विदेशमा घरपरिवारबाट टाढा बस्दा आफ्नो आमा बुवाआमासँगै बस्न नपाउँदा आफूलाई गाह्रो भएको उनी बताउँछिन् । ‘पैसा मात्र ठुलो कुरा होइन रहेछ, आफ्नो आमा बुबा घरपरिवारलाई पनि हामीले समय दिनु पर्छ भन्ने कुरा मैले आमा बुबा गुमाए पछि थाहा पाएँ’ उनले भावुक हुँदै भनिन् ।

अब विदेश नजाने अठोट लिएकी उनले सुरुमा ट्याक्सी चलाउने सोच बनाइन् तर त्यसो गर्न झन्झटिलो महसुस भयो । त्यही बेला चिनजानका केही साथीहरूसँग सल्लाह गरी उनले ट्याम्पु चलाउने निर्णय लिइन् ।

‘ट्याक्सी चलाउन गाह्रो लाग्यो, फेरि साथीहरूले ट्याम्पु चलाउन प्रेरणा दिए । सुरुमा डर लाग्थ्यो, तर अहिले अभ्यस्त छु,’ उनी भन्छिन् ।

सुनिता अहिले काठमाडौंको सुनधारा, अनामनगर, बानेश्वर, गौशाला हुँदै कालोपुल क्षेत्रका रुटमा ट्याम्पु चलाउँछिन् । बिहान ५ बजे उठेर खाना पकाउने, ८ बजे ग्यारेज पुग्ने र त्यसपछि साँझ ७ बजेसम्म यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने उनको दैनिकी हो ।

‘दिनमा चार फन्का लगाउँछु, काम खटिएर गर्नुपर्छ,’ उनी भन्छिन्, ‘साहुलाई १७ सय बुझाउँछु, बाँकी कमाइ आफैँ राख्छु । खान बस्न पुग्छ ।’

विदेशमा जति गरे पनि त्यहाँ न आफ्नो घर थियो, न परिवेश चिनेको । तर काठमाडौंमा काम गर्दा कम भए पनि आत्मसन्तुष्टि पाएकी छन् उनले । ‘यहाँ काम गर्दा थाकिन्छ तर सन्तुष्टि हुन्छ । म आफ्नै देशमा छु, आफ्नै मान्छेबिच छु, उनी भन्छिन् ।

भोलिका योजना : आफ्नै ट्याम्पु किन्ने सपना

अहिले उनले भाडामा लिएको ट्याम्पु चलाइरहेकी छन् । तर भोलि आफ्नै सवारीसाधन किन्ने सोचमा छिन् ।

‘अहिले भाडामा चलाउँछु, कमाइ ठिक छ,’ उनी भन्छिन्, ‘कमाइ थोरै भए पनि मेहनतको फल मिठो हुन्छ । त्यसैले केही वर्षमा आफ्नै ट्याम्पु किन्ने योजना छ ।’

सुनिता अहिले आफ्नो पेसाबाट पूर्ण सन्तुष्ट छिन् । महिलाले गाडी चलायो भन्ने सामाजिक टिप्पणीलाई उनी अटेर गर्छिन् । उनी भन्छिन्, ‘काम गरेर खानु लाज होइन, बरु मागेर वा चोरेर खानु लाज हो । मैले आफ्नो पसिनाले जीवन चलाइरहेकी छु, यसमा मलाई कुनै सङ्कोच छैन ।’

उनले अन्य महिलाहरूलाई पनि कुनै पनि कामलाई सानो नराखी आफ्नो सीप अनुसार अघि बढ्न सुझाव दिन्छिन् । ‘आफ्नो कामको सम्मान गर्न जान्नुपर्छ,’ उनी भन्छिन् ।

ट्राफिकसँग गुनासो

यद्यपि, ट्याम्पु चालकका रूपमा उनले भोगेको मुख्य पीडा भने ट्राफिकको व्यवहार हो । मेहनत गरी खानेहरूको लागि ट्राफिकले धेरै सताउने गरेको उनको गुनासो छ ।

कुनै ठाउँमा एक छिन ट्याम्पो रोक्न पनि नदिएको उनी बताउँछिन् । ट्राफिकको व्यवहारले दैनिकीमै असर पर्न गएको र कमाई हुन नसकेको उनको अनुभव छ ।

‘सडकमा अलिकति पनि रोकियो भने तुरुन्तै सिठी बजाउँछन्, लाइन लगाउन पनि समय दिँदैनन्,’ उनी भन्छिन्, ‘हामी मेहनत गरेर खानेहरूलाई यस्तो व्यवहार सहन गाह्रो छ ।’

उनले सरकारले साना व्यवसायमा लागेकाहरूका लागि सहजता ल्याओस् भन्ने चाहेको सुनाइन् । उनले सरकारले नै साना व्यवसायको लागि सोच्नुपर्ने बताइन् । ‘ट्राफिकले हामीलाई बुझेर व्यवहार गरे, हामीलाई सजिलो हुन्थ्यो,’ उनले भनिन् ।

यो समाजमा सुनिता घिसिङ मात्रै होइन, अन्य धेरै महिलाहरू आफ्नो इलम गरेर खान्छन् । उनीहरूका लागि सरकारले ठोस योजना बनाएर थोरै भए पनि सहयोग गर्नुपर्छ । जो देश छोडेर विदेश जान बाध्य भए, जसले परिवारको सपना बोकेर पसिना बगाए, र अन्ततः स्वदेशमै आफ्नो आत्मसन्तुष्टि खोजिरहेकाहरूप्रति राज्य पनि जिम्मेवार बन्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =