मनोसामाजिक उपचार सेवा सञ्चालनमा आएपछि …

टीकापुर । कैलालीको टीकापुर– २ कोठारपुर एक महिलाले दुई महिनाको अन्तरमा छोरी र श्रीमान् दुवै गुमाइन् । प्रेम विवाह गरेर गएकी छोरीको मृत्यु भएको दुई महिनामै वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान्को पनि मृत्यु भयो ।
छोरीले पोइली घरमा हिंसासहन नसकेर आत्महत्या गरेपछि विचलित भएकी जानकीका साउदीमा रहेका श्रीमान् पनि उच्च रक्तचापका कारण बितेपछि उनको संसार उजाडियो ।
उनले आफूलाई सम्हाल्न सकिनन् । साउदीमा तीन वर्ष कमाएर फर्केर केही दिन घर बसेर फर्किएका श्रीमान् गएको डेढ वर्षपछि ४० वर्षको उमेरमा उतै अस्ताए । विपन्न परिवारकी उनलाई स्नातकसम्म पढाएकी छोरी, त्यसैमाथि कमाउने श्रीमान् गुमाएपछि तनाव व्यवस्थापन गर्न नसक्दा मानसिक समस्या सुरु भयो ।
धेरै लामो समयसम्म उनी तनावमा रहिन् । तनाव व्यवस्थापन गर्न नसक्दा उनको भोक, निन्द्रा सबै हरायो । महिला स्वास्थ्य स्वयम् सेविकाको सहयोगमा टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुँवरसँग उनको भेट भयो ।
कुँवरले मनोपरामर्श र हौसला दिए । दशौँ पटकसम्मको भेटघाट गरिन् । उनका मनका सबै व्यथा सुनिदिए । पालिकाको समन्वयमा विदेशमा रहेको कम्पनीले तीन लाख, सरकारले बिमा वापतको सात लाख रकम उपलब्ध भयो । घरको तनावले ९ कक्षा पढ्दै गरेका छोराले पनि तनाव व्यवस्थापन गर्न नसकेर पढाइ छोडे । उनका छोरा हाल भारतको सुरतमा कमाउन गएका छन् ।
‘जग्गा जमिन छैन, आम्दानी पनि छैन, पढेलेखेको पनि छैन, भएको घर पनि पानी पर्दा चुहिन्छ’, उनले भनिन्, ‘सहयोगी कोही छैनन्, धेरै तनाव भयो, निन्द्रा हरायो, टीकापुर मात्र होइन उपचारका लागि नेपालगञ्जसम्म गए, निन्द्रा लाग्ने औषधिसमेत खानुपर्यो ।’ मनोसामाजिक परामर्शदाता कुँवरले दर्जनौँं पटक भेटेपछि मन शान्त भएको उनको भनाइ छ । ‘क्षतिपूर्ति पाएको त्यही रकमले अहिले घर खर्च चलेको छ, त्यो रकम सकिए के गरौँला भन्ने पिर छ’, उनी भन्छिन्, ‘उहाँ आम्दानी हुने खालको काम भएको भए हुन्थ्यो जीवन चलाउन सहज हुन्थ्यो ।’
कोठारपुरकै अर्की महिलाका श्रीमान् विदेशमा छन् । श्रीमान् विदेश गएपछि घरायसी कामको सबै जिम्मेवारी उनकै काँधमा आइपर्यो । घरायसी काममा घरबाहिर जाँदा वा घरमा पुरुष आफन्त आउँदा छिमेकी तथा आफन्तले श्रीमान्लाई गलत कुरा लगाइदिँदा उनलाई श्रीमान्ले आशङ्का गर्न थाले ।
उनलाई श्रीमान्ले रकम नपठाउने, नानाथरि भन्न थाल्दा उनलाई मानसिक तनावले झेल्यो । ‘धेरै तनाव भएपछि आफू पनि मर्छु र बच्चालाईसमेत मार्छु भन्नेसम्मको सोच आउँथ्यो, कामकाज सबै छोडे, मानिससँग बोल्न छोडे, बच्चा पनि राम्ररी स्याहारिन’, उनी भन्छिन्, ‘मनोसामाजिक परामर्शकर्ताले परामर्श दिएपछि मन हलुङ्गो भयो । त्यसपछि सम्हालिए र अहिले सिलाइकटाइको काम गरिरहेकी छु ।’
अहिले आत्मबल बढेको र घर सल्लाह गर्दा मेलमिलाप भएको र परिवारमा शान्ति छाएको उनी बताउछिन् । मानसिक स्वास्थ्य स्वायवलम्बन समूहका सदस्य निशादेवी कडायत अहिले पनि समाजमा मानसिक समस्या भएकाहरू लुकेर बसेकाले भविष्यमा विकराल अवस्था आउन सक्ने बताउछिन् । ‘मैले पनि मानसिक समस्या झेलेँ, म आफैँ स्वास्थ्य समस्या समाधान गर्नुपर्छ भनी सक्रिय भएँ’, उनी भन्छिन्, ‘तर समुदायमा मनोसमस्या लुकाएर बसेका धेरै छन्, समस्या भएकालाई उपचारमा ल्याउन नसके घरघरमा मनोरोगी भेटिनेछन् ।’
मनोसामाजिक परामर्शकर्ता कुँवर मनोसामाजिक समस्या थुप्रै खालका रहेका र आफूले घरमै र टोल विकास संस्थामा समूहमा राखेर सयौँलाई सेवा दिने गरेको बताउछन् । आव २०८१/८२ मा टीकापुरमा वैदेशिक रोजगारीसँग सम्बन्धित ३० जना मनोसामाजिक समस्यै भएकालाई सेवा दिएको जानकारी कुँवरले दिए । यसमा साइकोसिस भएका ५, डिप्रेसन भएका नौ, पिर चिन्ता तनावमा रहेका सात, आघात भएका चार, घरेलु हिंसामा परेका दुई र लाञ्छना एक र आत्महत्याको जोखिममा रहेका दुई जनालाई मनोपरामर्श सेवा दिइएको छ ।
पालिकाले आमा समूह, टोल विकास संस्था तथा अन्य समूहमा समेत गएर मनोसामाजिक सम्बन्धी समूह परामर्श सेवा प्रदान गर्दै आएको छ । जसले मनोसमस्या भएकालाई समयमै समाधान खोजिनुपर्छ भन्ने सचेत बनाएको छ ।
वैदेशिक रोजगारीपछि रोजगारीमा गएका वा परिवारका सदस्यमा देखिने मनोसमस्यालाई निवारणका लागि पालिकाले प्राथमिकता दिएको छ । टीकापुरमा टीकापुर अस्पतालसहित नारायणपुर स्वास्थ्य चौकी र विजयनगर सहरी स्वास्थ्य केन्द्रमा मनोसामाजिक उपचार सेवा सञ्चालनमा छ ।
टीकापुरमा सय बढी मनोसामाजिक समस्या भएका नागरिकको उपचारपछि स्वास्थ्य सुधार भएको पालिकासँग तथ्याङ्क छ । अर्का मनोसामाजिक परामर्शकर्ता खम्ब परियार स्वास्थ्य संस्था र घरभेट गरी मनोसामाजिक परामर्श दिन गरिएको बताउछन् ।
‘मानसिक स्वास्थ्य समस्या भएका वा परिवारका सदस्यलाई जीविकोपार्जनमा पनि सघाएका छौंँ’, उनी भन्छन्, ‘पालिकामा गठन भएका मानसिक स्वास्थ्य स्वावलम्बन समूहमार्फत १४ जनाले बाख्रापालन, तरकारी खेती, सिलाइकटाइ, बङ्गुरपालन जस्ता आयमूलक काम गरिरहेका छन् ।’ यसका साथै इलाका प्रहरी कार्यालय टीकापुरले पनि मनोसमस्याकै कारण आत्महत्या बढेको जनाउँदै आत्महत्या न्यूनीकरण कार्यदल गठन गरी विद्यालय तथा समुदायमा सचेतना जगाउने काम गरिरहेको छ ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले मानसिक स्वास्थ्य सेवाबारे नागरिकलाई अझैँ सचेतना फैलाउन आवश्यक रहेको बताए । ‘मानसिक स्वास्थ्य नीति पालिकाले पारित गरिसकेको छ । अब यसैमा टेकेर धेरै काम गर्नुपर्ने छ’, उनी भन्छन्, ‘स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव छ । मनोसमस्यालाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ ।’
नगर प्रमुख रामलाल डगौरा थारु मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउछन् । ‘मानसिक स्वास्थ्यमा पर्याप्त लगानी भएको छैन, पालिकामा सञ्चालित प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य र मनोसामाजिक स्वास्थ्यलाई प्राथमिकता दिने गरी काम गरिरहेका छौँ ’, उनी भन्छन्, पालिकामा रहेका विषयगत शाखासँग समन्वय र छलफल गरेर मानसिक स्वास्थ्य उपचारलाई प्राथमिकता दिने गरी काम गर्ने प्रयासमा छौँ । पालिकाका हरेक स्वास्थ्य संस्थामा मनोसामाजिक उपचार सेवा दिने प्रयास गर्नेछौँ ।’
परामर्श नै पहिलो उपचार हुने भएकाले स्वास्थ्य, शिक्षा र टोल विकास संस्थासँग जोडेर मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताए ।.भेरी अस्पताल, नेपालगञ्जका कन्सल्टेन्ट साइक्याट्रिस्ट चिकित्सक लीला देवकोटाले व्यक्तिको मन र समाजसँगकोसम्बन्ध सुमधुर भएमा मानसिक स्वास्थ्य ठिक छ भनेर बुझ्न सकिने बताए । ‘मनोसामाजिक अवस्था ठिक हुन, समाजका धेरै कुराले असर गर्छ, मानिसले एउटै घटनालाई फरक फरक तरिकाले बुझ्ने र लिने गर्छ, यो सबै मानसिक अवस्थाका कारण हो भन्ने बुझ्नुपर्छ’, उनी भन्छन्, ‘हामीले गरेका हरेक कार्य समाजले स्विकार्छ भने हाम्रो मनोसामाजिक स्वास्थ्य राम्रो भएको मान्न सकिन्छ । मानसिक स्वास्थ्य समस्या भएको मानिसको सोचाइ, भावना व्यवहारमा असामान्य परिवर्तन आउने र त्यसले तनाव उत्पन्न गराउँछ ।’
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक चारजनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या हुन्छ । आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरू बताउँछन् ।
नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या भएका मानिसहरु उपचारबाट टाढा रहेको मनोचिकित्सक देवकोटाको भनाइ छ । अहिलेको अवस्थामा बच्चा, वयस्क, ज्येष्ठ नागरिक सबैलाई मानसिक समस्या देखिएकाले मानसिक समस्या भएकालाई मनोविमर्श र औषधि सेवन गराएर निको गर्नुपर्ने उनको भनाइ छ ।









