दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

मर्चवार । विश्वभर शान्तिको मुहानका रूपमा चिनिने बुद्ध जन्मस्थल लुम्बिनी एक श्रद्धा र आस्थाको केन्द्र हो । तर, बुद्ध जीवनसँग गहिरो सम्बन्ध राख्ने नजिकैको ‘रोहिणी नदी’ अझै पनि इतिहासको ओझेलमा छ ।

बेलायती पुरातत्त्वविद् एलेक्जेण्डर कनिङ्घमले ‘द एन्सियन्ट जिओग्राफी आफ इण्डिया, द बुद्धिष्ट पिरियड’ (पृष्ठ सङ्ख्या ४१६)मा लेख्नुभएको छ, ‘कपिला र कोलीका बासिन्दाहरूले आफ्नो धानखेतलाई सिँचाइ पुर्‍याउने उद्देश्यले रोहिणी नदीको पानी वितरणको विषयमा विवाद गरेका थिए ।’ सिलोनी इतिहासहरूका अनुसार, रोहिणी नदी कपिला र कोली दुवै सहरहरूको बीचबाट बग्दथ्यो, जहाँ कोली सहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो ।

रोहिणी नदीको व्याख्या गर्दै कनिङ्घमले लेखेका छन्, ‘यी सबै विवरणहरूबाट मैले यो निष्कर्ष निकाल्छु कि रोहिणी नदी वर्तमानको कोहाना खोला नै हो, जो नगरको पूर्वमा छ माइल टाढा दक्षिण–पूर्व भएर बग्दछ ।’ उनको भनाइअनुसारको दूरीमा दानवबाहेक अन्य खोला छैन ।

कनिङ्घमले आफ्नो पुस्तकमा कपिला र कोली दुवै सहरहरूको बीचमा सालको रूखहरू भएको लुम्बिनी नामक एक सुन्दर उद्यान थियो, जहाँ दुवै सहरका बासिन्दा मनोरञ्जनका लागि आउने–जाने गर्थे । मायादेवीले त्यहाँ विश्राम गरिन्, उनले शिशु बुद्धलाई जन्म दिएको उल्लेख गरेको छ ।

भारतीय लेखक विजय मिश्रले कपिलवस्तु–लुम्बिनी दिग्दर्शन (१९५४)पेज नं ३१, ‘लुम्बिनीको खोज’ उपशीर्षकमा लेख्नु भएको छ, ‘सिंहली अनुश्रुतीका अनुसार रोहिणी नदी कपिलवस्तु र कोलिय नगरको मध्यबाट बगेको थियो । त्यही कोलिय नगरमा महामाया देवीको जन्म भएको थियो । ‘दुवै नगरका बीच एक राजकीय शालोद्यान थियो, जसलाई लुम्बिनी भनिन्थ्यो । त्यहाँ दुवै नगरका बासिन्दा आउने–जाने गर्नुहुन्थ्यो’, मिश्रले लेखेका छन्, यी उद्धरणहरूका आधारमा कोहान नदीलाई नै रोहिणी भन्न सकिन्छ । जुन नगरबाट छ माइल पूर्व हुँदै पूर्व–दक्षिण दिशामा बगेको छ ।

यही भनाइलाई पुष्टि गर्ने अर्को ऐतिहासिक दस्ताबेज हो, ‘द ट्रवेल्स अफ फाहियान आर द रेकर्ड अफ बुद्धिष्टिक किंडम’ । यो किताबको च्याप्टर २२ (पेज ६४ को फुटनोटमा लेखिएको छ, ‘रोहिणी नदीको किनारमा लुम्बिनी अवस्थित छ । जसले शाक्य र कोलीबिचको सीमारेखा निर्धारण गर्दथ्यो ।’ कोलियको स्थितिलाई शङ्कास्पद मान्दै कनिङ्घमले यसलाई रोहिणी नदीबाट तीन माइल पूर्वमा रहेको लेखेका छन् । ‘बुकानन्ले रोहिणीलाई ‘एउटा राम्रो सानो खोला’ भनेर वर्णन गर्नुभएको छ, जसले आफ्ना शाखाहरूमार्फत दक्षिण–पूर्वी भागहरूलाई उर्वर बनाउँछ’, उनको किताबमा उल्लेख छ ।

चौथो शताब्दीका चिनियाँ तीर्थयात्री फाहियानले पनि लुम्बिनीबाट छ माइल पूर्व–दक्षिणतर्फ बग्ने रोहिणी नदीको उल्लेख गरेका छन् । फाहियानले यस नदीलाई ‘कोहान’ नामले चिनाउनुभएको छ, जुन चौथो शताब्दीको चिनिया उच्चारण ‘कोहान’, ‘कूआन वा ‘क्वाना’ सँग मेल खान्छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा त्रिभुवन बरइले बुद्धकालीन सामाजिक र राजनीतिक संरचनालाई बुझ्न रोहिणी नदीको अध्ययन अनिवार्य रहेको बताएका छन् । उनका अनुसार, ‘शाक्य–कोलिय सङ्घर्षले तत्कालीन गणराज्य व्यवस्थाको सीमा, अधिकार र सम्झौताको आधार देखाउँछ । ‘रोहिणी एक प्राकृतिक सम्पदा मात्र होइन, बौद्धकालीन सभ्यता, प्राचीन कृषि सङ्घर्ष र क्षेत्रीय राजनीतिक सन्तुलनको पनि साक्षी हो’, डा.बरइ भन्छन् ‘बुद्धकालीन रोहिणी नदी शाक्य र कोलिय राज्यको मध्यभागबाट बग्ने नदी हो जहाँ यी दुई राज्यबिच सिँचाइका लागि जल–विवाद भएको थियो ।’

बौद्ध साहित्यहरूमा ‘रोहिणी नदी’को अभिलेख विशेष गरी पाली ग्रन्थ (विनय पिटक, महाभग्गा), चिनियाँ यात्री फाहियान र ह्वेन साङ्गको यात्रा वृत्तान्त, फा–हियनद्वारा लिखित बौद्ध राज्यहरूको अभिलेख, अलेक्जेण्डर कनिङ्घमका पुरातात्त्विक सर्वेक्षणहरू, स्थानीय समाजसेवी तथा वृद्ध वृद्धाको मौखिक वृत्तान्त, रुपन्देहीको भू–नक्सा तथा नदी प्रवाह विश्लेषण रिपोर्टलगायतका किताबहरूमा पाइन्छ ।

बुद्ध जन्मस्थल र बुद्ध वचनको प्रचारप्रसार संसारभर भइरहँदा बुद्धकालीन इतिहाससँग जोडिएको एक महत्त्वपूर्ण नदी ओझेलमा परेको बौद्ध विद्वानहरूको दुःखेसो छ । बौद्ध दर्शनमा स्नातक गरेका भोला गुप्ताले भने, ‘रोहिणी नदी बुद्धको नेतृत्व कौशलको प्रयोग भएको एक महत्त्वपूर्ण स्थल हो ।’ उनका अनुसार बौद्धकालीन सभ्यता, क्षेत्रीय सन्तुलन, जल विवाद र सामाजिक समन्वयको जीवन्त साक्षी रोहिणी नदी शाक्य (बुद्धका पितृकुल) र कोलिय (मातृकुल) राज्यबीचको सिमानामा बग्दथ्यो । उनले भने, ‘यसै नदीको पानी बाँडफाँटको विषयमा यी दुई छिमेकी राज्यबिच युद्धको स्थिति उत्पन्न भएको थियो ।’

बुटवलको तिनाउँ नदीको सानो शाखा २०३८ सालको बाढीपछि मात्रै कञ्चन नदीमा मिसिएको स्मरण गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध साहित्यमा स्नातकोत्तर गरेका बौद्ध विद्वान मेघनाथ आचार्यले भने, ‘त्यसभन्दा अघि कञ्चनको बहाव स्वतन्त्र थियो, जो मर्चवारको दुईमोहान घाटमा तिनाउसँग मिसिन्थ्यो ।’ यसले देखाउँछ कि नदीको स्वरूपमा समयानुसार धेरै परिवर्तन भइसकेको छ, तर त्यसको ऐतिहासिक पृष्ठभूमि अझै पहिचानयोग्य छ । ‘दुई नगरको सीमा छुट्याउने रोहिणी नदीको इतिहास र यसको साक्षी अब केबल पुस्तकका पानामा सीमित रहनु हुँदैन’, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले भने, ‘यसको अस्तित्व र नक्सा समेत प्रमाणित गरी सम्पूर्ण विश्व समाजलाई समन्वय, सहकार्य र जल व्यवस्थापनको नयाँ पाठ सिकाउने एक जीवित उदाहरणको रूपमा व्याख्या गर्नुपर्ने जरुरी छ ।’

बुद्धले रोहिणी नदीको जल विवाद समाधान गर्दा दिनुभएको उपदेशलाई जल स्रोत व्यवस्थापन, द्वन्द्व समाधान, र सह–अस्तित्वको सन्देशका रूपमा प्रयोग गर्न सकिने लुम्बिनी बचाउ महाअभियानको सह–संयोजक लक्ष्मी थारुको भनाइ छ । उनी भन्छन्, ‘यो केवल जलस्रोत मात्र होइन, समयको साक्षी र सभ्यताको प्रतिबिम्ब पनि हो ।’ अहिलेको दानव नदी नै बुद्धकालीन रोहिणी नदी भएको लक्ष्मीको दाबी छ । लुम्बिनीका स्थानीय बौद्ध भिक्षु धम्मसिद्धीका अनुसार, शाक्य र कोलीय वंशबीचको रोहिणी जल विवाद बुद्धले कूटनीतिक संयमता र करुणाका साथ समाधान गरेको ऐतिहासिक उदाहरण हो । यसले तत्कालीन जल व्यवस्थापन, अन्तर–राज्य सम्बन्ध र मध्यस्थता क्षमताको गहिरो सन्देश दिन्छ ।

हालको भूगोल हेर्दा दानव नदी रुपन्देही जिल्लाको मध्य भाग मर्चवार क्षेत्र हुँदै बगेको छ । यसको उदगमस्थल शिवालिक (चुरे) पर्वत हो । यो नदी गैडहवा गाउँपालिका–४ सुर्यपुरा हुँदै लुम्बिनी– मर्चवार क्षेत्रको मध्यभागबाट भारतको उत्तर प्रदेशस्थित राप्ती नदीमा गएर मिसिएको छ ।

नदीको बहाव दिशा, पुराना जलमार्ग, मानव बसोबासको फैलावट, पुरातात्त्विक प्रमाणहरू हेर्दा दानव नदीको पश्चिममा शाक्य र पूर्वी तटीय क्षेत्र पुरातन कोलियहरूको भूमि भएको प्रमाणित हुन्छ ।

कनिङ्घमको सर्वेका आधारमा पनि बुद्धकालीन रोहिणी नदीको प्रवाह हालको कञ्चनअर्थात् दानव नदीको मार्गसँग धेरै हदसम्म मेल खान्छ । स्थानीयले दानव नदीलाई कतिपय स्थानमा अझै पनि ‘कञ्चन’, हरैवा, रोहिणी, तिनाउ र दुईमोहान आदि नामले चिन्ने गर्दछन् ।

भारत झरेपछि यसै नदीलाई राप्तीको नामले पनि चिनिन्छ । यो भाषिक अपभ्रंशका कारण र समय चक्रको नाम क्रममा परिवर्तन भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका संस्थापक नगर प्रमुख मनमोहन चौधरीले बताए । रुपन्देहीको मर्चवार र लुम्बिनी क्षेत्रमा भएका पुरातात्त्विक उत्खननहरूले बुद्धकालीन बसोबास, इँटाका भग्नावशेष, जल व्यवस्थापन प्रणाली र खेतीपातीसँग सम्बन्धित प्रमाण प्रशस्त भेटिएका छन् ।

दानव नदी आसपासमा पुराना बस्ती, ऐतिहासिक पोखरी र बौद्धकालीन भग्नावशेष समेत फेला परेको क्षेत्र नै रोहिणी नदीको ऐतिहासिक सन्दर्भसँग मेल खाने लुम्बिनी प्रदेश सांसद बसिउद्दीन खाँन बताउछन् । दानव नै बुद्धकालीन रोहिणी नदी भएको उनको दाबी छ । दानव नदीलाई नै ऐतिहासिक रोहिणी नदीका रूपमा प्रमाणित गर्ने विषयमा सरकारी तथा गैरसरकारी तहबाट अनुसन्धान गरिनुपर्ने उनको भनाइ छ । पुरातत्त्व विभाग, जलस्रोत विज्ञहरू र इतिहास विद्हरूको संयुक्त टोली बनाएर यसबारे विस्तृत अध्ययन गरिनुपर्छ । यसैगरी स्थानीय तहमा पनि रोहिणीअर्थात् दानव नदीको संरक्षण, पर्यटन प्रवर्धन र ऐतिहासिक महत्वको प्रचारप्रसार हुनुपर्छ ।

दानव नदी क्षेत्र वरिपरि भएका उत्खनन र अनुसन्धानहरूले बुद्धकालीन बस्ती, जल निकास प्रणाली, प्राचीन इँटाका अवशेष फेला पारेका छन् । चिनियाँ तीर्थयात्री फाहियान (सन् ४०५ तिर) र हु यान साङ्ग (सन् ६३०) ले लेखेका यात्रा वृत्तान्तले पनि सम्भवतः यही नदीलाई रोहिणीको रूपमा उल्लेख गरेका छन् ।

पुरातत्त्वका विद्यार्थी चन्द्रप्रकाश पाठक भन्छन्, ‘बुद्ध जन्मस्थल लुम्बिनी र मर्चवार क्षेत्रमा दानव नदीले हजारौं बिघा खेती सिँचाइ गर्छ । नदीको उदगमस्थल, बहाव, दिशा, आसपासको भूगोल र नदी छेउका पुराना बस्तीहरू हेर्दा यही नै ऐतिहासिक रोहिणी नदी हुनसक्ने देखिन्छ ।’

भारतीय बौद्ध विद्वान् डाएके नारायण भन्छन्, ‘रोहिणी नदी मानव इतिहासमा रेकर्ड गरिएको पहिलो वातावरणीय द्वन्द्वहरूमध्येको एक हो, जसको मध्यस्थता स्वयम् बुद्धले गर्नुभएको थियो ।’ यो नदीलाई शाक्यवंश र कोलीय नगरबीचको भौतिक सीमा मात्र होइन, नैतिक र आध्यात्मिक सीमा पनि मानिन्छ । रोहिणी त्यही नदी हो, जहाँ तथागत गौतम बुद्धले दुई वंशबीचको युद्ध रोक्न हस्तक्षेप गरेका थिए । दानव नै बुद्धकालीन रोहिणी नदी हो भने यो विश्व बौद्ध धर्मको इतिहासका लागि ठूलो खोजको विषय हुने इतिहासविद् डा चूडामणि बराल बताउछन् ।

सम्मरीमाइ गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तव पनि दुई हजार ५०० वर्षअघिको रोहिणीको जल विवाद अहिले आएर खोज अनुसन्धानको विषय बनेको बताउछन् । उनी भन्छन्, ‘यो नदीको शोधखोज र अनुसन्धान भई प्रमाणित गर्न सकियो भने, बुद्धकालीन रोहिणी नदीसँगै लुम्बिनी र मर्चवार क्षेत्र मात्र होइन, नेपाल लगायत सम्पूर्ण विश्व बौद्ध धार्मिक मानचित्रमा लुम्बिनीको मूल्य झनै बढ्नेछ ।’ लुम्बिनी विकास कोष पुरातत्त्व महाशाखाका प्रमुख हिमाल उप्रेतीका अनुसार, कुनै पनि नदीको पुरानो मार्ग ट्रेस गर्न कठिन छ । यसको स्वरूपमा व्यापक परिवर्तन आइसकेको हुन्छ । तर पुरातत्त्व विभागले बुद्धकालीन रोहिणी नदीका प्रमाण सङ्कलन गरी त्यसको संरक्षण र प्रवद्र्धनमा लाग्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =