कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा प्रारम्भ

काठमाडौँ । डिजिटल बैंकिङमा अग्रणी स्थान बनाउँदै आएको कुमारी बैंक लिमिटेडले नेपाली बैंकिङ क्षेत्रमा एक नवीनतम डिजिटल सेवाको थालनी गरेको छ । बैंकले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको रणनीतिक सहकार्यमा ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवासँगै बैंकका ग्राहकले अब भौतिक कार्डविनै आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्रेडिट कार्डको सुविधा लिन सक्नेछन्, जसले डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
भर्चुअल क्रेडिट कार्ड कुनै भौतिक स्वरूप नभएको एक डिजिटल कार्ड हो, जुन ग्राहकको मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मा सुरक्षित रूपमा रहन्छ । ग्राहकहरूले आफ्नो ‘कुमारी स्मार्ट’ एपबाटै यो कार्ड तुरुन्तै जारी गरी सक्रिय बनाउन सक्नेछन्। यो कार्ड फोनपे नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ ।
यस कार्डमार्फत गरिने भुक्तानीमा ग्राहकले ४५ दिनसम्मको बिनाब्याज भुक्तानी अवधि (शर्तहरू लागू हुने गरी) प्राप्त गर्नेछन् । साथै, भुक्तानीको समयमा ग्राहकले आफ्नो अनुकूलताअनुसार बिलको १० प्रतिशत वा शतप्रतिशत रकम तिर्ने विकल्प रोज्न सक्ने सुविधा समेत प्रदान गरिएको छ ।
यो सेवाको सुरुवातले डिजिटल भुक्तानीलाई थप सरल, सुरक्षित र सहज बनाउने विश्वास बैंकले लिएको छ। भौतिक कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै मोबाइलबाटै क्रेडिट सुविधा उपलब्ध गराउने यो कदमलाई डिजिटल बैंकिङको रूपान्तरणमा एक महत्त्वपूर्ण कोशेढुंगा मानिएको छ । कुमारी बैंक र फोनपेको यो सहकार्यले वित्तीय पहुँच विस्तार गर्न र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइमार्फत अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । भिसा, मास्टरकार्ड तथा यूपीआई कार्ड स्वीकार्यतालाई देशभर विस्तार गर्दै बैंकले डिजिटल कारोबारको पहुँच बढाएको छ ।








