समिक्षा र एलिनाको समर्थनमा दीपक राज गिरी, लेख्छन् – गाली किन्ने र बेच्ने काम भैरहेको छ

काठमाडौँ । कलाकार दीपक राज गिरीले एउटै पेसामा भएका प्रतिस्पर्धीहरूकै संलग्नतामा गाली किन्ने र बेच्ने काम भैरहेको बताएका छन् ।

शुक्रवार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सार्वजनिक गरेको तस्बिरमा गायिका समिक्षा अधिकारी र एलिना चौहानलाई देख्न सकिन्छ ।

तस्बिरसँगै उनले क्याप्सनमा लेखेका छन् ‘यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् ! त्यो मध्य पनि समीक्षाको त म गायकी को मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशंसक हुँ ! सानो उमेरमा नै उनी माथि जुन बज्रपात पर्‍यो त्यो ठॉउमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनिले परिस्थिति संग घुँडा टेकिनन् र लड्दै आइन त्यसकै फलस्वरूप आज यहाँ पुगिन् !’

पछिल्लो समय गायिका एलिना चौहान र समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा थुप्रै नकारात्मक कमेन्टहरू आउने गरेको छ । यस विरुद्ध गायिका चौहानले आफूलाई नकारात्मक कमेन्ट गर्नेहरूको फेसबुक प्रोफाइल स्क्रिन सट गर्दै सार्वजनिक गर्न थालेकी छन् ।

उनले आज मात्रै एक भिडिओ सार्वजनिक गर्दै अन्य कलाकारहरूलाई नकारात्मक कमेन्ट गर्नेहरूसँग चुप नबस्न भन्दै आह्वान गरेकी थिइन् ।

यससँगै कलाकार गिरी यी दुई गायिकाहरूको समर्थनमा उभिएका छन् ।

उनले सामाजिक सञ्जालमा कमेन्ट गर्नेहरूले समाज र राष्ट्रको लागि सिन्को नभाँच्ने तर देशै खतम, नेतै खतम, केही गर्न सकिन्न भनेर भन्ने गरेको बताएका छन् ।

साथै उनले एउटै पेसामा भएका प्रतिस्पर्धीहरूकै संलग्नता पनि यस्ता गाली किन्ने र बेच्ने काम भैरहेको बताए । आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न नसक्ने र गाली गरेर भए पनि हतोत्साहित बनाउनुपर्छ भन्ने सोच रहेको खुलासा गरे ।

‘एउटै पेसामा भएका प्रतिस्पर्धीहरूकै संलग्नता पनि यस्ता गाली किन्ने र बेच्ने काम भैरहेको अवस्था छ, आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न सकिन्न गाली गरेर भए पनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ ।’ उनले लेखेका छन् ।

यस्ता उत्श्रृखलता विरुद्ध साइवरमा जाँदा कानुन नै कमजोर भएको उनले दाबी गरेका । ठूला नेतालाई गाली गर्यो भने समातेर तु कारबाही सुरु गरिहाल्ने तर अन्य मानिसहरूलाई गरिएको गाली गलौचको त रिपोर्ट पनि कसले सुन्ने ? भन्दै उनले प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्नेहरूलाई सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरू भन्दै व्यङ्ग गरेका छन् ।

अन्त्यमा नकारात्मक कमेन्ट गर्नेहरूको प्रोफाइल सार्वजनिक प्रति समर्थन जनाउँदै उनले लेखेका छन् ‘आफू माथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरू लाई तिमिहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दूबै जनालाई शुभकामना ! जय नेपाल’

पढ्नुहोस्, दीपक राज गिरीको पुरा स्ट्याटस

यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् !
त्यो मध्य पनि समीक्षाको त म गायकी को मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशंसक हुँ !
सानो उमेरमा नै उनी माथि जुन बज्रपात पर्‍यो त्यो ठॉउमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर
उनिले परिस्थिति संग घुँडा टेकिनन् र लड्दै आइन
त्यसकै फलस्वरूप आज यहा पुगिन् !

सामाजिक सञ्जाल कस्तो छ ?

आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुई कौडीको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनीहरू लाई नैतिकता सिकाउने, गाली गलौज गर्ने , तँ यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ …
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेसाकर्मी सबै नैतिकताहीन , चरित्र खराब,
देशमा सबै अज्ञानी आफू मात्रै साधु सन्त ज्ञानी…
आफूले समाज र राष्ट्रको लागि सिन्को नभाँच्ने
देशै खतम, नेतै खतम,केही गर्न सकिन्न यहा भन्ने !
जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गाउँ देखि आएर सङ्घर्ष गरेर , भोक भोकै बसेर हिम्मत नहारेर आफूलाई स्थापित गरेकाहरूलाई चाहिँ गाली गलौज गर्यो अनेकथरि लाञ्छना लगायो बस्यो !
यो ठॉउमा जसले जति गाली गर्न सक्यो त्यो हिरो
चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक ?
व्यक्तिगत जीवनमा कसको तलमाथि हुन्न ?
को चाहन्छ खराब होस , तर भैदिन सक्छ कहिलेकाहीँ !
को छ यहाँ कमजोरी विहीन मान्छे ?
एउटै पेसामा भएका प्रतिस्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भैरहेको अवस्था छ !
आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न सकिन्न गाली गरेर भए पनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ !
यस्ता उत्श्रृखलता विरुद्ध साइवरमा गयो कानुन नै कमजोर, ठूला नेतालाई गाली गर्यो भने समातेर तु कारबाही सुरु गरिहाल्ने तर अन्य मानिसहरूलाई गरिएको गाली गलौचको त रिपोर्ट भए पनि कसले सुन्ने ? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहा पाउनु फेरी ?
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरू लाई
तिमिहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दूबै जनालाई शुभकामना ! जय नेपाल !!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =