भोजपुरको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण, दुर्गम बस्तीका नागरिक उत्साहित

भोजपुर । दुर्गम भेगमा रहेका भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका स्थानीय अब आफ्नै गाउँमै स्वास्थ्य सेवा पाउने आशामा उत्साहित भएका छन् । स्थानीय सहकारीको भवनमा अस्थायी रूपमा सञ्चालित स्वास्थ्यचौकीका लागि अहिले पक्की भवन निर्माण थालिएको छ ।
वडाध्यक्ष बाचकुमार राईका अनुसार प्रदेश सरकारको रु २५ लाख बजेटमा चारकोठे पक्की भवन निर्माण भइरहेको छ । “हाम्रो प्राथमिकतामा स्वास्थ्य थियो,” उनले भने, “भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो, अब आफ्नै भवनबाट नियमित सेवा प्रवाह हुनेछ।”
स्थानीय सूर्य राईका अनुसार अघिसम्म सामान्य स्वास्थ्य सेवा लिन दुई–तीन घण्टा लगाएर अन्य गाउँ जानुपर्ने बाध्यता थियो ।
“स्वास्थ्यचौकी त खुलेको थियो, तर भवन नहुँदा सबै सेवा पाउन सकिएको थिएन,” उनले भने, “अब पक्की भवन बनेपछि नियमित सेवा सुरु हुने आशा गरिएको छ।”
संघीयता कार्यान्वयनमा आएपछि खोक्सिकमा स्वास्थ्यचौकी त स्थापना भयो, तर भौतिक पूर्वाधार नहुँदा प्रभावकारी सेवा दिन कठिनाइ भइरहेको थियो । अब भने भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष राईले जानकारी दिए । भौगोलिक रूपमा दक्षिणी क्षेत्रको दुर्गम बस्ती मानिने खोक्सिक भोजपुर सदरमुकामबाट करिब ५० किलोमिटर टाढा पर्छ । कच्ची सडक भएकाले सदरमुकामसम्म पुग्नै समस्या हुने स्थानीयको भनाइ छ ।
अब आफ्नै गाउँमा पक्की भवनसहितको स्वास्थ्यचौकी सञ्चालनमा आएपछि स्वास्थ्य सेवा लिन सहज हुने स्थानीयको अपेक्षा छ ।
“पहिले असहज थियो, अब गाउँमै सेवा पाइने भएपछि ढुक्क भएका छौँ,” अर्का स्थानीयले भने ।








