सङ्क्रमण देखिएका मुलुकबाट आएका नेपालीमा एमपक्सको लक्षण देखियो : डा. पुन

काठमाडौँ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सङ्क्रमण देखिइरहेको देशबाट आएका नेपालीमा एमपक्सको लक्षण देखिएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. पुनले मध्यपूर्वी देशमा सबैभन्दा धेरै नेपाली रहेको र दैनिक हजारौं मानिस आवतजावत गर्ने हुनाले जोखिम पनि धेरै नै रहेको बताएका हुन् ।

सङ्क्रमण देखिइरहेका देशबाट आएपछि केही दिन परिवारसँग अलग बस्न आग्रह गर्दै डा. पुनले विशेषज्ञसँग परामर्श लिन अनुरोध गरे । उनले शरीरमा आलश्यता, खान मन नलाग्ने र ज्वरो आएमा पक्कै पनि एमपक्स होला भनेर केही समय अलग बसेर परिवारका सदस्यलाई जोखिममा पर्नबाट जोगाउन आग्रह गरे ।

उनले भने ‘एमपक्स जो बिरामीमा पुष्टि भयो, उहाँहरूमा पनि जहाँ काम गर्नुहुन्छ झण्डै झण्डै ८० प्रतिशत नेपालीहरू नै छ । कतिपयमा मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भन्ने कुरा पनि छ । यसले गर्दा जोखिमको कुरा गरिरहँदा भारतको खुला सिमाना र आवतजावत धेरै हुन्छ भनिरहँदा हामीलाई यो पनि थाहा छ कि नेपालमा अहिले विदेश जाने र त्यसमा पनि मध्यपूर्वी देशमा सबैभन्दा धेरै जाने हुनाले, दैनिक हजारौं मानिस आवतजावत गर्ने कारणले एउटा जोखिम चाहिँ छ । तसर्थ हामीले जहाँबाट सङ्क्रमण आइरहेको भन्ने थाहा छ त्यतातिर उहाँहरू आइसकेपछि कमसेकम लक्षणहरू मिल्यो भने तपाईँहरूले विशेषगरी विशेषज्ञसँग सल्लाह लिनुस् भन्ने सुझाव दिन्छु । र, पक्कै पनि यहाँनेर के गर्ने भन्ने प्रश्न आउँछ तपाईँहरू यदि सङ्क्रमण देखिइरहेको देशहरूबाट आउनुभएको छ भने यहाँ आइसकेपछि सकेसम्म अलिकति अलग बस्दा राम्रो । तर, यदि केहीगरी त्यो पनि भएन भने लक्षण अलि मिल्दोजुल्दो देखियो । शरीरमा आलस्य, खान मन नलाग्ने र ज्वरो आएको छ भने पक्कै पनि सम्भावना एमपक्स होला भनेर अलि अलग बसेर परिवारका सदस्यहरूलाई जोखिममा पर्नबाट आफैँ जोगाउन सक्नुहुन्छ । अहिले पछिल्लो समयमा कोभिड फेरि सक्रिय भएको छ । पक्कै पनि यो त्यति राम्रो त होइन । प्यान्डामिक सकियो भनिरहेपनि यो हामीहरूकै साथमा रहेको छ । यो हराएको देखिएको छैन, बेला बेलामा हामीले तथ्याङ्कलाई आधार मान्ने हो भने सानोतिनो देखिन्छ सङ्क्रमण ।’

उनले पछिल्लो समय कोभिड सक्रिय हुनु त्यति राम्रो नभए पनि प्यान्डामिक सकियो भनिरहँदा यो अझै पनि हामीहरूकै साथमा रहेको र नहराएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =