कविताः गुनासो छैन, गुन मात्र बाँकी छ !

गुनासो छैन, बस्, गुन मात्र बाँकी छ,
आफन्तहरू छन्, तर आत्मा चाँहि खालि छ ।
रगतको रेखा त नक्सा हो न हो,
हृदयको नाता कतै हराएको जस्तो ।

हासेका थिए सँगै, बाल्यकालका पाटोमा,
आज त हाँसो पनि सस्तो लाग्छ, झुटो हाँसोको घातोमा।
थालमा मुन्टिएको माया खोज्दा,
भातमा नुन धेरै, तर आत्मामा स्वाद नै छैन ।

‘कस्तो भयो नि ?’, भन्छन्, देखाउँदा मुस्कान,
तर आँखाको गहिराइ पढ्ने आँखा छैन, त्यहाँ ज्ञान।
कुरा गर्छन् धेरै, आफन्ती धर्मको,
तर चिनी नपुगेको चिया जस्तो, न मिठो, न त तातो कर्मको ।

बुझ्न खोजेनन् कहिल्यै, म भित्रको भूकम्प,
सुनिदिएनन् कहिल्यै, मौनताले बोलेको सन्देश संम्प।
कहिले नसोचे, म के महसुस गर्छु,
बस्, आफ्नै घाउ देखाएर, मलम माग्न मात्र आउँछन् ।

नेपाली समाज– गाँस, बास, कपासको देश,
तर सम्बन्धमा काँडै काँडाको वेश ।
दाजु भन्नेले देखाउँछ ईष्र्या,
दिदी भन्नेले गन्छ दिनको हिसाब, माया होइन सापटीको सिया ।

म आफन्त छैन रे, किनकि म बुझ्दिन रे उनीहरूलाई,
तर कसैले सोध्यो? म कहिले बुझिन आफैलाई ?
नाता भनिन्छ, तर शर्तसँग बाधिएको,
प्यार भनिन्छ, तर स्वार्थसँग सिँगारीएको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =