दुई सातादेखि टिचिङको बेडमा मोहन वैद्य, कस्तो छ स्वास्थ्य ?

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था हाल स्थिर रहेको पारिवारिक स्रोतले जनाएको छ । छातीमा समस्या देखिएपछि जेठ १५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भर्ना गरिएका वैद्यको अहिले आईसीयूमा विशेष निगरानीमा राखेर उपचार भइरहेको छ ।

दमको समस्या बढेपछि अस्पताल भर्ना गरिएका वैद्यलाई चिकित्सकहरूले निमोनिया भएको पुष्टि गरेका छन् । अहिले मुख्यरूपमा यही समस्याको उपचार भइरहेको छ । परिवारका सदस्यका अनुसार, संक्रमण थप नफैलियोस् भनेर भेटघाटमा कडाइ गरिएको छ । ‘केवल परिवारका सदस्य र केही सीमित व्यक्ति मात्र भेट्न पाएका छन्,’ ती सदस्यले भने ।

डा. निरज बमको नेतृत्वमा रहेको चिकित्सक टोलीले वैद्यलाई अझै केही दिन आईसीयूमै राखेर उपचार गर्नुपर्ने सुझाव दिएको छ । पारिवारिक स्रोतका अनुसार, उपचार खर्च जुटाउन परिवार र पार्टी दुवैले पहल गरिरहेका छन् । वैद्यको स्वास्थ्यमा आएको समस्यापछि उनको पार्टीका कार्यकर्ता तथा माओवादी आन्दोलनमा संलग्न नेताहरूले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका छन् । धेरैले उनलाई ‘इमान्दार र प्रतिबद्ध नेता’को रूपमा वर्णन गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

२०६९ सालको जेठमा माओवादी केन्द्रबाट अलग भई क्रान्तिकारी माओवादी गठन गरेका वैद्य पछिल्लो समय ‘जनविद्रोहको नीति’ बोकेर अघि बढिरहेका छन् । गत मंसिरमा सम्पन्न महाधिवेशनबाट उनी सर्वसम्मत महासचिव चयन भएका थिए । हाल उनी स्वास्थ्य उपचारमा व्यस्त रहेकाले सीपी गजुरेलले कार्यवहाक महासचिवका रूपमा पार्टी सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =