यात्रुहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो सेवा दिन्छौँ : इनड्राइभ

काठमाडौँ । जेठ १९ गतेबाट सुरु भएको देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले आफ्ना प्रयोगकर्ताहरूलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै आएको बताएको छ ।
गतसोमबार एक विज्ञप्ति जारी गर्दै इनड्राइभले सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने प्रयासको मुख्य आधार बिडिङ (मोलमोलाई) मोडल भएको जानकारी दिएको छ ।
इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आफैँलाई भाडादर तय गर्ने अधिकार दिन्छ । यात्रुहरूले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन् । सो प्रस्ताव नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन् ।
इनड्राइभको ‘फेयर प्राईस’ मोडलले नेपालको राइड–हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिने र यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा उपलब्ध गराएको बताएको छ ।
‘हालको यातायात बन्दको अवस्थामा पनि, हाम्रो प्लेटफर्ममा दसौँ हजार चालकहरू छन्, जसले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेका छन्। हामी चालकहरूबाट अत्यन्त न्यूनतम कमिसन लिने नीतिमा विश्वास गर्छौं र त्यसलाई व्यवहारमा पनि उतारिरहेका छौं । यही सन्दर्भमा, हामीले चार–पाङ्ग्रे सवारी साधन ९कार० का चालकहरूलाई पिक–आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिसन सुविधा उपलब्ध गराएका छौं ।’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
यसले चालकहरूको आम्दानी बढाउने र यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउने उल्लेख गरिएको छ । साथै, मोटरसाइकल चालकहरूका लागि पनि विभिन्न बोनस योजना सञ्चालन गरिरहेको र उक्त जानकारी एपमार्फत दिइरहेका बताइएको छ ।
कम्पनीका अनुसार यात्रुहरूका लागि प्रत्यक्ष छुटको रूपमा यी सुविधा लागू नहुन सक्छन्, तैपनि यसले उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो र सजिलो सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई प्रमाणित गरेको बताएको छ ।








