कस्तो छ पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य ?

काठमाडौँ । केही दिनअघि मात्रै लामो कानुनी लडाइँपछि कारागारमुक्त भएका पूर्वमन्त्री तथा विवादास्पद राजनीतिकर्मी मोहम्मद अफ्ताब आलमलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई तत्काल काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आकस्मिक भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार, आलमको बोली लरबराउने तथा शरीरको एक भागमा कमजोरी महसुस हुने जस्ता लक्षणहरू देखिएका थिए । तत्काल गरिएका विस्तृत स्वास्थ्य परीक्षण तथा निदानपछि चिकित्सकहरूले उहाँलाई मस्तिष्कघात (स्ट्रोक) भएको पुष्टि गरेका हुन् ।
हाल उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक रूपमा सुधार आइरहेको अस्पताल प्रशासनले जनाएको छ । चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको बताइएको छ।
रौतहट जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालतले प्रमाणको अभावमा उल्ट्याइदिएपछि पूर्वमन्त्री आलम केही दिनअघि मात्रै नख्खु कारागारबाट रिहा भएका थिए ।









