गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र नभई जिम्मेवारीको रूपान्तरण पनि हो : डिल्लीराज भट्ट

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र जनताका लागि जनताद्वारा नै चुनिएको उन्नत व्यवस्था भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज पोखरामा आयोजित गणतन्त्र दिवस मूल समारोहमा उनले गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको ऐतिहासिक रूपान्तरण पनि हो भने ।

‘हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौँ, सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन, विकास र समृद्धिको दिशामा अगाडि बढ्ने प्रण गरेका छौैँ’, प्रदेश प्रमुख भट्टले भने । कुनै पनि विभेद, हिंसा र असहिष्णुता लोकतान्त्रिक मूल्यविरुद्ध हुने बताउँदै उनले सहिष्णुता, सहकार्य र संवादलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।

सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रलाई संस्थागत गर्दै राज्य संरचना र नेतृत्वलाई जनउत्तरदायी, पारदर्शी र सहभागितामूलक बनाउन सम्बद्ध पक्षको साझा दायित्व रहेको बताए । ‘गणतन्त्रको सार जनताको सर्वोच्चतामा निहित छ, नागरिक अधिकारको सुनिश्चितता, शासकीय पारदर्शिता, जबाफदेहिता, समावेशिता र विधिको शासन गणतन्त्रका मेरुदण्डा हुन्’, उनले भने, ‘गणतन्त्र दिवसले हामी सबैलाई सामाजिक न्याय, आर्थिक समानता, विकास र समृद्धिको मार्गमा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ ।’

मुख्यमन्त्री पाण्डेले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा तथा कार्यान्वयनका गणतन्त्रीवादी शक्ति सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखे । ‘गणतन्त्रको सार्थक कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, स्वच्छ खानेपानी, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण र सामाजिक सुरक्षालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु आजको मुख्य चुनौती हो’, उनले भने ।

गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले गणतन्त्र जनमुखी शासन व्यवस्था रहेकाले यसको रक्षार्थ गणतन्त्रवादी शक्तिहरूबिचको एकता र सहकार्यमा जोड दिए । ‘नेपाली जनताको अथक प्रयास, त्यास र बलिदानबाट गणतन्त्र प्राप्त भएको हो, संविधानको कार्यान्वयनमार्फत अहिलेको व्यवस्थालाई थप सुदृढ र जनमुखी बनाउनु जरुरी छ’, उनले भने ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्रप्रति सारा नेपालीको अपनत्व रहेको बताए । ‘गणतन्त्र जनताले लडेर ल्याएको हो, लोकतन्त्रविरुद्ध धावा बोल्ने कोशिस कसैले नगरे हुन्छ, अब राजतन्त्र फर्कन सम्भव छैन, प्रतिगामी हर्कतहरुलाई गणतन्त्रवादीहरू मिलेर सशक्त प्रतिवाद गर्नुपर्छ’, उनले भने । संविधान र व्यवस्थाभन्दा माथि कोही नरहेको उल्लेख गर्दै उनले राजतन्त्र ल्याउने सपना नदेख्न राजवादीहरूलाई चुनौती दिए ।

गण्डकी प्रदेशसभा विपक्षी दलका नेता हरिबहादुर चुमानले जनयुद्ध र संयुक्त जनआन्दोलनको बलमा गणतन्त्र आएको बताए । ‘अहिलेको व्यवस्था ल्याउन हजारौँको रगत, पसिना बगेको छ, संविधानले व्यवस्था गरे बमोजिम जनतालाई परिवर्तनको अनुभूति दिलाउन सक्नुपर्छ’, उनले भने, ‘गणतन्त्र पक्षधरहरू एक हुनु जरुरी छ ।’ समारोहमा विभिन्न सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । त्यसअघि मुख्यमन्त्री पाण्डेलगायतका उच्चपदस्थ व्यक्तिहरूले सहिदचोकमा पुगी सहिदका सालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =