एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाले ‘वेस्ट ह्याकाथन’ आयोजना गर्दै

काठमाडौँ । विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ ।

राष्ट्रिय स्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सृजनशील व्यक्तिहरू, उद्यमीहरू र जलवायुका अभियान्ताहरुलाई समेटेर फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको एनसेलले जनाएको छ ।

एनसेलका अनुसार यो विशेष कार्यक्रम जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदैछ जहाँ देशका प्रतिभाशाली समाधानकर्ताहरू फोहरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।

ह्याकाथनको उद्देश्य फोहर व्यवस्थापन, रिसाईकल पूर्वाधार, प्लास्टिक प्रदूषण र फोहरमैला व्यवस्थापनमा काम गर्ने अनौपचारिक कामदारहरू विशेष गरी महिलाहरूको सशक्तीकरणका लागि प्रविधिमा आधारित समाधानहरू विकास गर्नु रहेको जनाएको छ ।

‘डिजिटल इनोभेसन र वातावरण संरक्षणको प्रयासलाई एकै प्लेफर्ममा जोड्ने यस किसिमको नवीन पहलमा साथ दिन पाउँदा हामी निकै खुसी छौ । यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्याहरू मध्येको एक—फोहर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानहरूको विकास गर्ने विश्वास लिएका छौ,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।

‘यो केवल ह्याकाथन मात्र होइन, फोहरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनः परिकल्पना गर्ने राष्ट्रिय आह्वान हो’ खालिसिसिका संस्थापक तथा सिइओ अमुन थापाले भने । ‘यस प्लेटफर्म मार्फत हामी समस्या समाधान गर्न दिगो प्रणाली विकासका लागि युवा, महिला र प्रविधिकर्मीहरूलाई सक्षम बनाउने मार्गहरू निर्माण गर्दैछौं ।’

ह्याकथनमा सहभागी हुन जेठ १५ सम्म आवेदन खुला रहेको छ । यसमा विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, कोडर, फोहरमैला व्यवस्थापनमा अनौपचारिक रूपमा योगदान पुर्याउँदै आएकाहरू लगायत सफा तथा स्मार्ट नेपाल बनाउन इच्छुक सबैले भाग लिन सक्नेछन् ।

ल्यान्डफिलदेखि परिवर्तनसम्म, धुवाँ बिनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाईज ट्रास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा प्रतियोगीहरूले समाधान विकास गर्नु पर्नेछ ।

यस ह्याकाथनलाई गोल्यान ग्रुप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाइइएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला, एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टले सहयोग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =