विश्वकप लिग-२

स्कटल्यान्डले युएईलाई आठ विकेटले हरायो

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बुधबार सम्पन्न खेलमा स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सशक्त पुनरागमन गरेको छ । युएई भने आफ्नो निराशाजनक प्रदर्शनबाट अझै उकासिन सकेको छैन ।

स्कटल्यान्डले १६२ रनको सामान्य लक्ष्य मात्र १५.४ ओभर बाँकी रहँदै दुई विकेटको क्षतिमा पुरा गर्दै शानदार जित हात पार्‍यो । यस जितसँगै स्कटल्यान्ड १५ खेलबाट १८ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । युएई भने १६ खेलबाट मात्र ६ अङ्क बटुल्दै सातौँ स्थानमा सीमित रह्यो ।

जितमा ओपनर जर्ज मुन्सेले ४५ बलमा ५६ रन बनाउँदै बलियो सुरुआत दिलाए । ब्रेन्डन म्याकमुलेनले ५१ बलमा अविजित ५० रनको योगदान दिए भने कप्तान रिची बेरिङटनले पनि अविजित ३५ रन (२८ बलमा) बनाएर सहज जित सुनिश्चित गरे।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६१ रन बनाएको थियो । युएईका तर्फबाट मोहम्मद बसिमले ६१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका ब्राड कुरी र ब्रेन्डन म्याकमुलेनले समान तीन विकेट लिएर युएईलाई सस्तो स्कोरमा समेट्न निर्णायक भूमिका खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =