आईपीएल पुनः सुरु हुने : १७ मेदेखि बाँकी खेल, फाइनल ३ जुनमा

काठमाडौं । भारत-पाकिस्तानबीचको पछिल्लो तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को खेल तालिका पुनः सार्वजनिक गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले जारी गरेको नयाँ तालिका अनुसार प्रतियोगिता १७ मे (जेठ ३) बाट पुनः सुरु हुने छ भने फाइनल खेल ३ जुन (जेठ २०) मा हुनेछ ।

बीसीसीआईले सोमबार एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौं । सरकार, सुरक्षा निकायहरू र सम्बन्धित सबै पक्षहरूसँग विस्तृत छलफलपछि बाँकी खेलहरू सञ्चालन गर्ने निर्णय लिइएको हो ।’

यसअघि धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको दाबी गर्दै खेल स्थगित गरिएको थियो । त्यसयता प्रतियोगिताका बाँकी खेलहरू अन्योलमा परेका थिए । अब, बीसीसीआईको निर्णयसँगै प्रतियोगिता पुनः गतिमा फर्किने भएको छ ।

नयाँ तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल बेंगलुरुमा हुनेछ । लिग चरणको अन्तिम खेल लखनऊ र बेंगलुरुबीच लखनऊमा खेलिनेछ । कुल १७ खेलहरू अब भारतका छ शहरहरू- बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद- मा आयोजना गरिनेछन् । यद्यपि प्लेअफ चरणका खेल कहाँ हुने भन्नेबारे जानकारी पछि सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ ।

यसपटक जयपुर पनि खेलस्थलका रूपमा समावेश गरिएको छ, जुन यसअघि तालिकाबाट बाहिर रहने अनुमान गरिएको थियो । नयाँ तालिकामा आइतबारको दिन डबल-हेडर (एकै दिन दुई खेल) समावेश गरिएको छ ।

आईपीएलले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘१७ मेदेखि सुरु भएर ३ जुनको फाइनलसँगै प्रतियोगिता समाप्त हुनेछ । बाँकी रहेका १७ खेल ६ भिन्न स्थानमा सम्पन्न गरिनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =