प्रजातान्त्रिक आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको सराहना

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका अतुलनीय रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको आयोजनामा सुरु भएको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को दोस्रो दिनको कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा प्रेस जगत्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रेस स्वतन्त्रता आजको आवश्यकता भएको बताउँदै उनले केही मिडियाको अव्यावसायिक प्रस्तुतिका कारण नियमन जरुरी रहेको बताए ।

पछिल्ला समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यामलाई एकै रुपमा बुझ्ने प्रवृत्तिसमेत बढिरहेको उल्लेख गर्दै उनले सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा आएका विषय फरक हुन् भन्ने कुरालाई बुझाउन जरुरी भएको विचार व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समयमा ज्वलन्त चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरिने अन्तर्राष्ट्रिय सम्मेलनबाट नीति निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पोखराको प्राकृतिक सौन्दर्य संरक्षणसँगै फेवातालसहित सबै तालको संरक्षणलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सबै एकै ठाउँमा भएको बताउँदै प्रेस स्वतन्त्रता, जलवायु परिवर्तनलगायत विषयमा सम्मेलनमा छलफल हुने बताइन् ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले देशको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गरेको बताउँदै सम्मेलनमा बदलिँदो विश्व परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौतीका साथै मिडिया क्षेत्रले भोग्नुपरेका समस्याबारे गहन छलफल हुने जानकारी दिए ।

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, गण्डकी प्रदेश अध्यक्ष टङ्कराज अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वतन्त्र प्रेसको महत्वबारे चर्चा गरेका थिए ।

सम्मेलनअन्तर्गत आज यहाँ ‘जलवायु सङ्कट र पत्रकारिता’ ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ एवं ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =