विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको घोषणा, दीपेन्द्र बने उपकप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा गरेको छ ।
विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।
रोहित कुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सबै पुरानै अनुहार छन् । दीपेन्द्र सिंह ऐरीलाई भने उपकप्तानको जिम्मेवारी दिइएको छ ।
विकेटकिपर द्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख मात्र ब्याटर रहेका छन् ।
अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि टोलीमा स्थान बनाएका छन् । बलरहरू सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् ।
क्यानले लिग–२ अन्तर्गत सिरिजपछि हुने टी–२० आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा छन् ।
नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरू खेल्नेछ । स्कटल्याण्ड ए सँग दुई अभ्यास खेल पनि रहेको छ ।
लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दै छ ।









