विश्वकप एसिया छनोट

नेपाल र हङकङबीचको पहिलो खेल रद्द, दुवै टिमले १-१ अंक बाँडे

काठमाडौं । थाइल्यान्डमा आजदेखि सुरु भएको आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो दिन नै मौसमले बाधा पुर्‍याएको छ । नेपाल र हङकङबीचको उद्घाटन खेल वर्षाले रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

खेल थाइल्यान्डको भिजेको मैदानका कारण टस नहुँदै रद्द गरिएको हो । हिजो राति परेको अविरल वर्षाले आउटफिल्ड खेलयोग्य अवस्थामा नरहेपछि बिहान ८:४५ बजे सुरु हुने तालिका रहेको खेल हुन सकेन ।

यस प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई गरी नौ देशको सहभागिता रहेको छ । सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँग रहेको छ। समूह ‘ए’ मा थाइल्यान्ड, कुवेत र भुटान छन् भने समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।

समूह चरण डबल राउन्ड रोबिन प्रणालीमा हुनेछ, जसअनुसार प्रत्येक टोलीले आफ्नै समूहका अन्य टोलीहरूसँग दुई पटक प्रतिस्पर्धा गर्ने छ। समूहको शीर्ष स्थान प्राप्त गर्ने टोली सुपर थ्री चरणमा प्रवेश गर्नेछन् । सुपर थ्रीमा पनि राउन्ड रोबिन आधारमा खेलहरू हुनेछन्, जसको अन्त्यमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आईसीसी महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =