चेन्नईको रोमाञ्चक जित, कोलकताको सिजन लगभग समाप्त

काठमाडौं । साविक विजेता कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्ले अफ दौडबाट लगभग बाहिरिएको छ। बुधवार इडेन गार्डेन्समा भएको खेलमा पहिल्यै प्रतियोगिताबाट बाहिरिएको चेन्नई सुपर किंग्ससँग दुई विकेटले पराजित भएपछि कोलकताको प्ले अफ यात्रा लगभग अन्त्यतिर उन्मुख भएको हो।

पहिले ब्याटिङ गर्दै कोलकताले ६ विकेटको क्षतिमा १७९ रन बनायो। कप्तान अजिन्क्या रहानेले ४८ रनको पारी खेले भने आन्द्रे रसेलले २१ बलमा ३८ रन, मनिष पाण्डेले अविजित २६ रन र सुनिल नारायणले २६ रनको योगदान दिए। चेन्नईका लागि नुर अहमद सबैभन्दा सफल बलर बने—चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए।

१८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन उत्रिएको चेन्नईले ६० रनमै पाँच विकेट गुमाएर संकट निम्त्याए पनि डेवाल्ड ब्रेसभस (२५ बलमा ५१ रन), उर्विल पटेल (११ बलमा ३१ रन) र शिवम दुबे (४० बलमा ४५ रन) को उत्कृष्ट प्रदर्शनले टोलीलाई दुई बल बाँकी छँदा जितसम्म पुर्‍यायो।

कोलकताका लागि वैभव आरोहाले तीन ओभरमा ४८ रन खर्चेर तीन विकेट लिए, वरुण चक्रवर्तीले दुई विकेटका साथै चार ओभरमा जम्मा १८ रन मात्र दिए। हर्षित रानाले पनि दुई विकेट लिए।

हारसँगै कोलकता १२ खेलमा ११ अंकसहित छैटौं स्थानमा सीमित रह्यो। यद्यपि प्ले अफको गणितीय सम्भावना बाँकी भए पनि अन्य टोलीका प्रदर्शन र रनरेटको आधारमा सम्भावना लगभग समाप्त भएको विश्लेषण गरिएको छ। चेन्नई भने ६ अंकसहित तालिकाको पुछारमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =