महिला टी-२० छनोट : नेपाल पहिलो खेलमा हङकङसँग भिड्ने

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आफ्नो पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ उसँग हङकङ र बहराइन प्रतिस्पर्धी छन् ।

समूह चरणमा डबल राउण्ड रोबिन प्रारूपमा खेलहरू सञ्चालन हुनेछन् । यस प्रारूपअनुसार प्रत्येक टोलीले समूहका अन्य दुई टोलीसँग दुई-दुई पटक प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष स्थान हासिल गर्ने टोलीले सुपर राउण्डमा स्थान बनाउनेछ ।

कुल ९ देश सहभागी यस छनोट प्रतियोगिता तीन समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीले सुपर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि सुपर राउण्डबाट उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश पाउनेछन् ।

थाइल्यान्डको आयोजनामा आगामी मे ९ देखि २० सम्म आयोजना हुने यस क्षेत्रीय छनोट प्रतियोगितामा घरेलु टोली थाइल्यान्डसँगै नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् । हाल भारतमा प्रशिक्षणमा रहेको नेपाली महिला क्रिकेट टोली सोही ठाउँबाट सिधै थाइल्यान्ड प्रस्थान गर्ने तयारीमा रहेको क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =