लखनउमाथि पञ्जाबको सानदार जित, दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्समाथि ३७ रनको सानदार जित निकाली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ४८ बलमा ९१ रनको विस्फोटक इनिङ्स खेले । पाँच विकेट गुमाउँदै पञ्जाबले २३६ रनको विशाल योगफल तयार गरेको थियो । कप्तान श्रेयस ऐयारले २५ बलमा ४५ रन तथा शशांक सिंहले अविजित १५ बलमा ३३ रन बनाएर टोलीको स्कोर उकास्न योगदान दिए ।

लक्ष्य पछ्याउने क्रममा लखनउको सुरुआत कमजोर रह्यो । २७ रनमै शीर्ष तीन ब्याट्सम्यान गुमाएको लखनउका लागि आयुस बडानीले सर्वाधिक ७४ रन जोडे। उनले ४० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । अब्दुल समादले पनि २४ बलमा ४५ रन बनाए तापनि टोली २० ओभरमा सात विकेट गुमाउँदै १९९ रनमै सीमित भयो ।

पञ्जाबको बलिङतर्फ आर्शदीप सिंह सर्वाधिक प्रभावशाली रहे । उनले चार ओभरमा मात्र १६ रन खर्चिँदै तीन महत्वपूर्ण विकेट झारे ।

यो जितसँगै पञ्जाबले १५ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ । लखनउ भने १० अंकसहित सातौं स्थानमा छ ।

यसअघि आइतबारै सम्पन्न पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई रोमाञ्चक एक रनले हराएको थियो । कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा आठ विकेट गुमाउँदै मात्र १०५ रन बनाउन सक्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =