दुई रनको सनसनीपूर्ण जित निकाल्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौं । रोयल च्यालेन्जर्स बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई दुई रनले हराउँदै बंगलोरले १६ अंक जोड्दै अग्रस्थानमा स्थान बनाएको हो।
बंगलोरले प्रस्तुत गरेको २१४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १५ रन आवश्यक भएको अवस्थामा बलर यस दयालले शान्त र नियन्त्रणयुक्त बलिङ गर्दै चेन्नईको जितको सम्भावनामा पूर्णविराम लगाए। उनले पहिलो तीन बलमा दुई रन मात्र दिँदै महेन्द्र सिंह धोनीको कीमती विकेट लिएका थिए।
नोबलसहित तीन बलमा १३ रन आवश्यक परेको अवस्थामा शिवम दुबेको छक्का र फ्रिहिटको अवसरले खेल पुनः रोमाञ्चक बनेको थियो। तर, बाँकी तीन बलमा दयालले केवल तीन रन खर्चिएपछि बंगलोरले जित सुनिश्चित गर्यो।
चेन्नईका लागि आयु मन्थ्रेले सर्वाधिक ९४ रन बनाएका थिए। उनले ४८ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। रविन्द्र जडेजाले अविजित रहँदै ७७ रन जोडे। तर, अन्य ब्याट्सम्यानको खासै साथ नपाउँदा चेन्नई लक्ष्य नजिक पुगेर चुक्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले ५ विकेट गुमाउँदै २१३ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। ज्याकोब बेथेल (५५), विराट कोहली (६२) र रोमारियो सेफर्ड (५३*) ले अर्धशतक प्रहार गर्दै बंगलोरलाई ठूलो स्कोरमा पुर्याए। विशेषगरी सेफर्डको आक्रमक प्रदर्शन प्रभावशाली रह्यो। उनले मात्र १४ बलमा ६ छक्का र ४ चौकासहित अविजित ५३ रन बनाएका थिए। खालेल अहमदको एक ओभरमा उनले एक्लै ३३ रन प्रहार गरेका थिए।
आरसिबीले अन्तिम दुई ओभरमा ५१ रन बटुल्दै खेल आफ्नो पक्षमा तानेको हो। पावर प्लेमा पनि बंगलोरले कुनै विकेट नगुमाई ७१ रन बनाएको थियो। चेन्नईका माथेस पाथिरनाले तीन विकेट लिए तापनि टोलीलाई जित दिलाउन सकेनन्।
जितसँगै आरसिबी १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ। लगातार खराब प्रदर्शनपछि चेन्नई चार अंकमा सीमित रहँदै तालिकाको पुछारमा झरेको छ।








