हार्दिक पाण्डेको विस्फोटक पारीले दिलायो मुम्बईलाई जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरे पनि मुम्बई इन्डियन्सले अहिले लय समातेको देखिएको छ । बिहीबार वाङखडे स्टेडियममा भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादमाथि ४ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो ।

पहिले ब्याटिङ गर्दै हैदरावादले मुम्बईलाई १६३ रनको लक्ष्य दिएको थियो। जवाफी इनिङमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

मुम्बईका लागि ओपनर रेन रिकेल्टनले ३१ रनको उपयोगी पारी खेले भने रोहित शर्मा (२६), विल ज्याक्स (३६), सूर्यकुमार यादव (२६) र तिलक बर्मा (२१ अविजित) ले योगदान दिए । तर अन्तिम क्षणमा कप्तान हार्दिक पाण्डेको विस्फोटक ब्याटिङ निर्णायक बन्यो । उनले मात्र ९ बलमा २१ रन बनाउँदै टोलीलाई सहज जित दिलाए । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो ।

बलिङतर्फ हैदरावादका कप्तान प्याट कुमिन्सले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । टोलीका लागि अभिषेक शर्माले सबैभन्दा धेरै ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनले २८ बलमा ७ चौका प्रहार गरेका थिए । त्यसबाहेक हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन जोडे ।

मुम्बईको बलिङतर्फ विल ज्याक्सले २ विकेट लिए भने जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट र हार्दिक पाण्डेले समान १/१ विकेट लिए । जितसँगै मुम्बई ६ अङ्कसहित अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ भने हैदरावाद ४ अङ्कसहित नवौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =