कलकतामाथि पन्जाबले निकाल्यो सनसनीपूर्ण जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एक रोचक भिडन्तमा पञ्जाब किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै सिजनको कीर्तिमानी जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न खेलमा पञ्जाबले ११२ रनको सामान्य लक्ष्यको उत्कृष्ट रक्षासहित कोलकातालाई १६ रनले पराजित गर्यो ।
पहिलो ब्याटिङ गर्दै पञ्जाबले १५.३ ओभरमै सबै विकेट गुमाउँदै १११ रनको संकलन गरेको थियो । पञ्जाबका लागि प्रभ्सिरमन सिंहले आक्रामक १५ बलमा ३० रन बनाउँदा, प्रियांस आर्यले १२ बलमा २२ रनको योगदान दिए । बलिङमा कोलकाताका हर्षित रानाले तीन विकेट लिए भने वरुण चक्रवर्ती र सुनिल नारायणले दुई-दुई विकेट झारे ।
जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले ७.३ ओभरसम्म २ विकेट गुमाउँदै ६२ रन जोडेको थियो र सहज जिततर्फ अग्रसर देखिएको थियो । तर त्यसपछि युजभेन्द्र चावलले अजिक्या राहानेलाई १७ रनमा आउट गर्दै खेलको रूख फेरे । त्यसपछि पञ्जाबका बलरहरूको उत्कृष्ट प्रदर्शनले कोलकाताको ब्याटिङ क्रम तहस-नहस भयो ।
ग्लेन म्याक्सवेलले दुई ओभरमा मात्र पाँच रन दिँदै एक विकेट झारे भने मार्को जेन्सनले तीन विकेट लिँदै अन्तिम क्षणमा खेललाई आफ्नो पक्षमा ताने । चावलले ४ ओभरमा २८ रन खर्चेर चार विकेट लिँदै ‘प्लेयर अफ द म्याच’ घोषित भए । आर्शदीप सिंहले नवौं विकेटको रूपमा हर्षित वैभव आरोहालाई पवेलियन फर्काएपछि जेन्सनले अन्तिम विकेट लिँदै कोलकाताको पारी १५.१ ओभरमै ९५ रनमा समेटिदिए ।
यो जितसँगै पञ्जाब किङ्सले आईपीएल इतिहासमै सानो लक्ष्यको उत्कृष्ट रक्षा गर्दै स्मरणीय जित हासिल गरेको छ । अघिल्लो सिजनमा पनि पञ्जाबले कोलकाताविरुद्ध सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउने कीर्तिमान बनाएको थियो, र यसपटक सानो लक्ष्यको उत्कृष्ट बचाउ गर्दै फेरि कोलकातामाथि प्रभावशाली विजय हासिल गरेको छ ।








