शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात, हैदरावादको लगातार चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा धमाकेदार २८६ रन बनाउँदै राजस्थान रोयल्समाथि ४४ रनको जित दर्ता गरेको सनराइजर्स हैदरावादको लय त्यसपछि गुम्दै गएको छ । आइतबार राति गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको हैदरावादका लागि यो सिजनको लगातार चौथो हार हो ।

पाँच खेलबाट जम्मा दुई अंक जोड्न सफल हैदरावाद तालिकाको पुछारमा झरेको छ भने गुजरात ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ । १५३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको गुजरातले कप्तान शुभमन गिलको सानदार प्रदर्शनको बलमा ३ विकेट गुमाउँदै २० बल अगावै लक्ष्य पुरा गर्‍यो । गिलले ४३ बलमा ६ चौकासहित ६१ रन बनाए । वासिङ्टन सुन्दरले २९ बलमा ४९ रन बनाए भने सेरफाने रुदरफोर्डले विस्फोटक शैलीमा १६ बलमै अविजित ३५ रन प्रहार गर्दै खेल सकाए ।

गुजरातको सुरुवात खासै राम्रो रहेन । चौथो ओभरसम्ममा जोस बटलर (० रन) र साइ सुदर्शन (५ रन) गुमाउँदै टोली संकटमा परेको थियो । तर कप्तान गिलको संयमित ब्याटिङले टोलीलाई पुनः लयमा ल्यायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन मात्र बनायो । नितिसकुमार रेड्डीले सबैभन्दा बढी ३१ रन बनाए । हेन्रिक क्लासेनले २७ रन र कप्तान प्याट कुमिन्सले ९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २२ रन बनाए ।

गुजरातका तर्फबाट मोहम्मद सिराजले धारिलो प्रदर्शन गर्दै चार ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए । प्रसिद्ध कृष्ण र साइ किशोरले दुई–दुई विकेट लिए। उत्कृष्ट बलिङ प्रदर्शनका लागि सिराज ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अबको खेलमा मंगलबार मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बंग्लोर भिड्दैछन् । यो भिडन्त साँझ ७:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =