मैथिली कला, संस्कृतिको विकासका लागि सरकार प्रतिबद्ध : भौतिकमन्त्री

जनकपुरधाम । मधेश–प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले मैथिली भाषा र संस्कृतिको विकास तथा संरक्षणमा मधेश–प्रदेश सरकारबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
मैथिली विकास कोष परिषद् जनकपुरधामको नवनिर्मित भवनमा आजदेखि सुरू भएको मधेश–प्रदेश प्रादेशिक लालितकला प्रदर्शनी कार्यक्रममा उनले नेपालीपछि मैथिली भाषा नेपालको सबैभन्दा बढी बोलिने भाषा भएकाले त्यसको संरक्षण तथा विकासलाई मधेश–प्रदेश सरकारले प्रथम प्राथमिकतामा राखेको र विकासका लागि गृहकार्य गरिरहेको बताए ।
मुलुकमा भौतिक विकासका साथै सभ्यता, संस्कृति तथा कलाको विकास नभए देशको विकास नहुने उल्लेख गर्दै उनले मैथली विकास कोषलाई मिथिलाको संस्कृति तथा संस्कारलाई दिगो बनाउन तथा जर्गेना गर्नका लागि के–कस्ता योजना बनाउने हो, त्यसको खाकासहित मधेश प्रदेश सरकार समक्ष पेस गर्न अनुरोध गरे ।
सोही समारोहमा पूर्वमन्त्री तथा मधेश–प्रदेश सासंद रामसरोज यादवले मैथली विकास कोष परिषद्ले मैथली भाषा तथा संस्कृतिको विकासका लागि सरकारसँग हातोमालो गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले मैथली विकास कोषको पूर्वाधार निर्माणमा रू दुई करोडको थप कोष खडा गर्नुपर्ने बताए ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जुन समाजमा कला, संस्कृति तथा सभ्यताको संरक्षण हुँदैन त्यो समाज जीवित नहुने उल्लेख गर्दै मिथिला संस्कृतिको संरक्षणमा सबैको ध्यान जानुपर्ने बताए । उनले लोप भएको युरोपको सभ्यता तथा संस्कृतिको उदाहरण दिँदै मिथिला कला, संस्कार तथा संस्कृतिको विकासका लागि ठोस योजना आवश्यक रहेकाले त्यसका लागि मिथिला सङ्ग्राहलय बनाउनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा राससका अध्यक्ष झालाई दोसल्ला ओढार सम्मानित गरिएको थियो । कार्यक्रममा कोषका अध्यक्ष जिवनाथ चौधरीको सभापतित्वमा भएको थियो । प्रदर्शनी पाँच दिन चल्ने छ ।








