खबर दिनभर : देशभर महाशिवरात्री पर्वको उल्लास, उपाधि जित्नबाट फेरी चुक्यो नेपाल

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१ औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भई बढाइँ तथा सैनिक कला प्रदर्शनी अवलोकन गरे । सो अवसरमा नेपाली सेनाद्वारा उनको सम्मानमा राष्ट्रपति सलामी अर्पण गरिएको थियो ।

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८१’ वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनै र दोस्रो हुने अमलदार मित्रबहादुर रानामगरलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्नुहुने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे ।

यसअघि सेनाको हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८१’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा प्रयोग गर्दै आएका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । त्यस्तै सेनाको टोलीबाट सङ्गठनको प्रतीक चिह्न षटकोणभित्र त्रिशूल र डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

यसैगरी उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।

त्यस अवसरमा भारतीय स्थल सेनाका पूर्वप्रमुखहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरवणे र मनोज पाण्डे सहभागी रहनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सांस्कृतिक एवम् धार्मिक सम्पदाको यथोचित संरक्षण गरौं : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको बताएका छन् । महाशिवरात्री पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने कामना गरेका हुन् ।

महाशिवरात्रीको अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवम् धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवम् संवर्द्धन गर्न प्रण गर्नुपर्ने उनको भनाई छ । ‘हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो,’ उनले भने ।

राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई महाशिवरात्रीले बेजोड रूपमा प्रकट गरिरहेको उल्लेख गरे । ‘वैदिक परम्परामा शिवलाई मूलतस् संहारका शक्ति मानिएको भएतापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवम् संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको छ । रौद्र शक्तिले खराब रोजाईबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ ।’ उनले भने,‘मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रीले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्री पूजा अर्चनाका मुख्य अंग मानिन्छ भने शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।’

नेपालभूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइने सन्देशमा उल्लेख छ। ‘पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्‍वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ ।’ शुभकामनामा भनिएको छ,‘आराध्यदेव श्री पशुपतिनाथ एवम् किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको छ भन्ने मलाई लागेको छ ।’

सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाईं

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधवार विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड, तोप बढाईं, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।

नेपाली सेनाले बुधवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६२ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

हेलिकप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाईं, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति अशोक सिग्देल छन् । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचिमा नेपाल अग्रणी स्थानमा पर्दछ ।

परिवर्तनको संवाहक माओवादी केन्द्र हो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले भने “आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो ।” अभियानबाट जनता उत्साहित भएका बताउँदै उनले परिवर्तनको संवाहक नेकपा ९माओवादी केन्द्र० रहेको बताए ।

अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताए ।

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकाले बुधवार जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको सहिदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ ।’’

नेपाली जनता संविधानले निर्दिष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उनले बताए । संविधानले समाजवादको परिकल्पना गरेकाले पूर्वउपराष्ट्रपति पुनले समाजवाद प्राप्तिपछि मात्र सहिदहरुको सपना सार्थक हुने उल्लेख गरे ।

जनताका आवश्यक एकैचोटी पूरा हुन नसक्ने भए पनि पार्टीहरुले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

मुलकभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

आज शिवरात्रि पर्वका अवसरमा मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वाससहित आज बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो ।

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरी उत्तररामेश्वरम् ज्यार्तिलिङ्गधामलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बेहडाबाबा मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

आज मन्दिर परिसर नजिक मेलाको पनि आयोजना गरिएको भन्दै मेलामा कैलालीका साथै छिमेकी जिल्लाका बासिन्दा तथा भारतबाट पनि दर्शनार्थी आएका उनले बताए ।

उनका अनुसार मन्दिर परिसरमा नेपालीका साथै भारतीय व्यवसायीले केही दिनअघिदेखि यहाँ विभिन्न पूजाका सामग्रीको व्यापार गर्दै आएका छन् ।

म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा महाशिवरात्रि पर्वका दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

बेनी बजारबाट तीन किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनहरूले पूजा एवं दर्शन गरिरहेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी जानकारी दिए ।

उनका अनुसार गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लाको बेनी शिवालय मन्दिरमा रहेको एक सय आठ शिवलिङ्गको पूजा गर्न पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।

पहाडी जिल्ला लमजुङमा रहेका विभिन्न महादेव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

महाशिवरात्रि पर्वमा शिव भगवान्को पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वासले जिल्लाका करपुरेश्वर, इशानेश्वर, करापुटार, त्रिशक्तिलगायत महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

यहाँ लमजुङसहित गोरखा, तनहुँ, कास्की, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट भक्तजन दर्शनका लागि आएका इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार यहाँ ठाडो बत्ती बाल्ने, दूध चढाउने, सामूहिक व्रतबन्ध, शिवमहापुराण वाचन, लोकगीत प्रतियोगिता, करापुटारे ठाडो भाका, रक्तदान, ठेलो प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि मेला, हस्ताकला प्रदर्शनी, एक सय आठ धारामा स्नान, दर्शन गर्नेलगायत कार्यक्रम भइरहेका छन् ।

शिवरात्रिका अवसरमा सप्तरीको शम्भुनाथ महादेवसहित विभिन्न शिवालयमा बिहानैदेखि हिन्दु धर्मावलम्बीहरूको पूजापाठ र दर्शन गर्नेको घुइँचो लागेको छ ।

आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिठाई तथा फलफूलसहित महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शिव मन्दिरमा पूजाआजाका लागि लामबद्ध छन् ।

साथै जिल्लाको महादेवा गाउँपालिकास्थित शिवमन्दिर, हनुमानगर कङ्कालनी नगरपालिका–२ सकरदहीमा रहेको महादेव मन्दिर, कञ्चरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर, बोदे बरसाइन नगरपालिका–५ स्थित हरिशङ्कर महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।

त्यसैगरी, महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा आज महाशिवरात्रिका अवसरमा पूजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको महाशिवरात्रि पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताए ।

उनका अनुसार भक्तजनको सहज दर्शनका लागि महिला, पुरुषको फरकफरक लाइनको व्यवस्था गरिएको छ ।

साथै सुरक्षा लागि जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवा खटिएका उनले जानकारी दिए । यहाँ महोत्तरीसहित धनुषा, सिरहा, सर्लाही, सिन्धुलीसहित छिमेकी मुलुक भारबाट पनि दर्शनार्थी आउने गर्छन् ।

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो

शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेन्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए । ‘हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेन्ड खोलामा पानी बगाउने गरेका थियौँ । आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ । त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ’, उनले भने, ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरु पर्व तथा दैनिक रूपमा वाग्मतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ ।’

उनका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ । ‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामको पानी ल्याएर काठमाडौँका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौँ’, लामिछानेले भने, ‘आगामी वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौँ ।’

गत वर्षको शिवरात्रिमा एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठपर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा बगाएको थियो ।

वाग्मती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीसँग पानी सापटी लिइएको जानकारी दिए । ‘शिवरात्रि, छठजस्ता विशेष दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छोड्दै आइरहेका थियौँ’, उनले भने, ‘यसपटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आगामी वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौँ ।’

धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य छ ।

मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङको गल्छि गाउँपालिका(३ गुप्तेश्वरी मन्दिरमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते भएका गजुरी गाउँपालिका-६ का १८ वर्षिय प्रशान्त चेपाङ र २० वर्षिय जयराम चेपाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका प्रशान्त र जयरामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षिय सिरिश चेपाङ र १७ वर्षिय सुरेस चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । ट्याङकर चालक गजुरी गाउँपालिका- ६ का २३ वर्षिय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनको मूल्यमा गिरावट

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।

नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधि

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधि जितेको हो ।

म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । ६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि विङ तेइन्जी तुनले म्यानमारको अग्रता दोब्बर पारेकी थिइन् ।

नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् ।

३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन ।

४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् । नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रह्यो ।

नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको थियो। म्यानमारसँग २-२ को बराबरी खेलेको थियो। म्यानमारले लिग चरणमा लेबनानलाई ३- ले र कीर्गिस्तानलाई ५-० ले हराएको थियो।

अमेरिका र फ्रान्स युक्रेन–रूस शान्तिमा एकमत, सहायतामा विभाजित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन युक्रेन र रूस बीच दिगो शान्ति कायम गर्ने विषयमा सहमत भएका छन् । तर म्याक्रोनले ट्रम्पको यो दाबीलाई सार्वजनिक रूपमा अस्वीकार गरे ।

युरोपेली सहयोगीहरूले युक्रेनलाई कसरी सहायता प्रदान गरे भन्ने सन्दर्भमा स्थिति संयुक्त राज्य अमेरिकाको लागि अनुचित रहेको बताए ।

ह्वाइट हाउसमा द्विपक्षीय बैठक पछि संयुक्त पत्रकार सम्मेलनको क्रममा ट्रम्पले म्याक्रोन धेरै महत्वपूर्ण मुद्दाहरूमा उनीसँग सहमत छन् ।

छलफलमा धेरै ठोस कदम चालेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताए । शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु नहुने बताए । ग्यारेन्टी बिनाको युद्धविराम हुनु नहुनेमा उनको जोड छ ।

सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौता हुनु जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =