नेपाल स्काउटका निर्देशक भट्टराईले महिलामाथि दुर्व्यवहार गरेको आरोप

काठमाडौं । सामाजिक हितका लागि स्थापित संस्था हो, नेपाल स्काउट । तर, पछिल्लो समय यो संस्था विवादित बन्न पुगेको छ । नेपाल स्काउट पदाधिकारीबिचको टकराबले ठप्प जस्तै अवस्थामा छ ।

बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने स्काउटको उद्देश्य भए पनि त्यस अनुरूप भने स्काउट अघि बढेको देखिँदैन । उल्टै संस्थाकै जिम्मेवार व्यक्तिले नै चरित्रहीन गतिविधि गर्ने गरेको पाइएको छ ।

नेपाल स्काउटमा आबद्ध एक महिलाले निर्देशक रामप्रसाद भट्टराईले आफूमाथि दुव्र्यवहार गरेको बताएपछि भट्टराई विवादमा मुछिएका छन् ।

निर्देशक भट्टराईले नेपाल स्काउटका महिला कर्मचारीहरूमाथि मानसिक तथा आपत्तिजनक व्यवहार गर्ने गरेको ती महिलाले आरोप लगाएकी हुन् ।

स्काउटमा आबद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत निर्देशक भट्टराईले गरेको दुव्र्यवहारबारे उल्लेख गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।

ती महिलाले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ पोष्ट गर्दै निर्देशक भट्टराइले आफूमाथि दुव्र्यवहार गरेको घटनाबारे उल्लेख गरेकी हुन् । निर्देशक भट्टराईले आफूलाई दुव्र्यवहार, गालीगलौज, धाक धम्कीका साथै अपमानजनक व्यवहार गर्ने गरेको उनले भिडिओ तथा फेसबुक स्टाटसमा उल्लेख गरेकी छन् ।

यति मात्रै होइन, ती महिलाले भट्टराईलाई भ्रष्टाचारी समेत रहेको आरोप लगाएकी छन् । उनले स्काउटमा कार्यरत अन्य कर्मचारीलाई पनि विभिन्न बहानामा यातना दिने गरेको बताइन् ।

भट्टराईले संस्थामा कार्यरत सक्षम व्यक्तिलाई खतरा ठान्ने गरेको उल्लेख गर्दै भट्टराईका विरुद्धमा बोल्ने कर्मचारीलाई यातना दिने गरेको ती महिलाको आरोप छ ।

व्यक्तिगत तथा पेसागत छवि पूर्ण रुपमा नष्ट पार्दै संस्थामा विषाक्त वातावरण सिर्जना गर्ने भट्टराईको प्रवृत्ति रहेको ती महिला बताउँछिन् । भट्टराईको यही कार्यशैलीले स्काउटमा कार्यरत कर्मचारीहरू राजीनामा दिन बाध्य हुने गरेको उनले खुलासा गरिन् ।

उनले भिडिओमा भनेकी छन्– ‘यस प्रकारको व्यवहारले धेरै कर्मचारी तथा स्वयंसेवकलाई संस्थाबाट अलग हुन बाध्य बनाएको छ । जसका कारण सार्वजनिक हितमा पनि असर पुगेको छ ।’

भविष्यमा नेपाल स्काउटभित्र खराब अभ्यास दोहोरिन नदिन निर्देशक भट्टराईको सत्य बाहिर ल्याउन आवश्यक रहेको पनि उनले बताएकी छन् ।

निर्देशक भट्टराईले मानसिक र अन्य यातना दिएकी यी एक्ली महिला भने होइनन् । स्काउटमै कार्यरत अन्य कर्मचारीलाई पनि भट्टराईले विभिन्न बहानामा यातना र धाक धम्की दिने गरेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् ।

स्काउटमा कार्यरत कर्मचारीहरूलाई निर्देशक भट्टराईले मन्त्रालय र खेलकुदमन्त्रीको योजनामा कामबाट निकाल्ने गरेको बताइएको छ ।

यता, निर्देशक भट्टराई भने आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताउँछन् । उनले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भ्रम फैलाइएको बताए ।

‘म माथि लगाइएका आरोपहरू सबै सरासर झुट हुन् । त्यस्तो कुनै विषय भए आधिकारिक हिसाबले प्रक्रियामा जान सकिन्छ,’ उनले मकालुखबरसँग भने, ‘सामाजिक सञ्जालमा राखेर अरूको चरित्रहत्या गर्ने काम भइरहेको छ, यो सरासर झुट छ ।’

आफूमाथि लगाइएका आरोपहरू कार्यालयबाट हटाउनका लागि गरिएको प्रपञ्च मात्रै भएको उनी बताउँछन् । ‘म माथि लगाइएका आरोपहरू मलाई निलम्बन गर्ने देखी लिएर कार्यालयबाट जसरी पनि हटाउनका लागि भएको एउटा प्रपञ्च हो । मलाई हटाउन हतियारका रुपमा प्रयोग गरिएको छ,’ उनले भने ।

उनले आफ्नो चरित्रहत्या गर्ने गरी लगाइएका आरोपहरू निराधार विषय मात्रै रहेको बताए । उनले त्यस्ता केही विषय भए कानुनी रुपमा उपचार खोज्न समेत आग्रह गरे ।

‘यो विषय निराधार हो । कपोकल्पित र चरित्रहत्या गर्ने किसिमले आएको विषय हो, त्यस कारण यस विषयमा धेरै चर्चा गरिराख्नुपर्दैन,’ निर्देशक भट्टराईले भने, ‘यो क्यारेक्टरको विषयको प्रश्न हो । मेरो बेल्कुल चरित्र हत्या गर्ने हिसाबले आएको विषय हो । त्यसैले यसमा धेरै चर्चा परिचर्चा गर्न जरुरी छ जस्तो मलाई लाग्दैन ।’

उनले आफूमाथि लगाइएको मानव तस्करको आरोप पनि निराधार रहेको बताए । उनले आधारसहितको आरोप भएको भए यो विषय अदालतमा जानुपर्ने बताए ।

तर, चरित्र हत्या गर्ने उद्देश्यले आफूलाई झुटा आरोप लगाइएको उनले बताए । समग्रमा आफूलाई नेपाल स्काउटबाट हटाउनका लागि प्रपञ्च भइरहेको उनले बताए ।

‘आधारसहितको आरोप भएको भए यो विषय त अदालतमा जान्थ्यो होला । कानुन नियमन गर्ने निकायमा जान्थ्यो होला । कसैले उजुरबाजुर गथ्र्यो होला । म तपाईँलाई पनि आरोप लगाउन सक्छु । म तपाईँलाई आरोप लगाएर भोली एउटा मिडियामा न्यूज लेख्छु । त्यो त भएन नि,’ निर्देशक भट्टराईले भने ।

कुनै पनि आधार प्रमाणविना कसैको चरित्रहत्या गर्ने गरी आरोप लगाउनु राम्रो नभएको उनको भनाई छ ।

यता, निर्देशक भट्टराईमाथि लागेको आरोपबारे नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले अनविज्ञता प्रकट गरे ।

उनले भट्टराईमाथि लागेको आरोपबारे बुझेर अघि बढ्ने प्रतिक्रिया दिए । ‘यस विषयमा हामी बुझेर,छलफल गरेर अगाडि बढ्छौँ । के–कसो हो बुझ्छौँ र त्यसपछि अघि बढ्छौँ’ उनले भने ।

यसअघि विवादित व्यक्ति निर्देशक जस्तो गरिमामय पदमा रहनु उचित नरहेको भन्दै गत पुस २६ गते नेपाल स्काउटका निर्देशक भट्टराई तीन महिनाका लागि निलम्बनमा परेका थिए ।

पटक–पटक सचेत गराउँदा समेत भट्टराईले गैर कानुनी कार्य गरी संस्थालाई हानी नोक्सानी गरेकाले कार्यालय प्रमुखको जिम्मेवारीमा राख्दा संस्थालाई नोक्सानी हुने भएकोले प्रमुख आयुक्त स्तरीय निर्णय गर्दै रञ्जितले निलम्बन गरेका थिए ।

बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्ने गरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्ति गरेकाले भट्टराईलाई निलम्बन गरिएको प्रमुख आयुक्त रञ्जितले बताएका थिए ।

तर, नेपाल स्काउटका प्रमुख स्काउट समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको लिखित निर्देशनपछि निलम्बित निर्देशक भट्टराई फेरी जिम्मेवारीमा फर्किएका हुन् ।

खेलकुदमन्त्रीको चौधरीको आडमा उनले स्काउटमा आफू अनुकूलका निर्णय गर्दै आएका छन् । उनले स्काउटका ऐन, नियम संशोधन नै गरेको आरोप छ । विवादित छवि भएका भट्टराईका गलत कामले नेपाल स्काउटको गरिमा नै संकटमा परेको छ ।

प्रतिक्रिया

2 thoughts on “नेपाल स्काउटका निर्देशक भट्टराईले महिलामाथि दुर्व्यवहार गरेको आरोप

  1. नेपाल स्काउट जस्तो सस्थामा यति हुदा नि के हेरिरहेको छौ केपि सरकार्। राम लाई तुरुन्त निलम्बन गरि कारवाहि गरियोस्। सस्थाको गरिमा बचाइयोस्। अनि आयुक्त ज्यू तपाइ पनि मरेको बिरालो जस्तो भएर भएन अलिक सस्था बचाउन सक्ने भएर हिड्न पर्यो। राम माथि यति मात्र हैन धेरै कुरा छन बाहिर आउनु पर्ने।

  2. खुसि लाग्यो कसैले भएनी हिम्मत गरेछ भट्टराइको बारेमा बोल्न!
    मैले पैलानै भनेको यो मान्छेले केटि त देख्ने हुदैन भनेर बिस्वास गरेनन अहिले आयोनि हैन त्याहाका साथीहरु?
    हामीलाई पर्दा बोल्ने थिएनन अहिले आएछ खुसि लग्यो
    उनि मात्र हैन अरु पनि छन् सबैलाई कारवाही होस्!
    पर्यो भने मा नि बोल्छु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =